अरुण नदीको बेलिब्रिज भाँचियो, तीन ट्रक खसे
खाँदबारी – संखुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ ।मकालु–५ को नुम र वडा नम्बर–१, वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । आज दिउँसो निर्माण सामग्री बोकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।
प्रजिअ खतिवडाले निर्माणाधीन इप्सुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको बताए ।ट्रकमा सवार चालक र सहचालक भने सकुशल नै रहेको मकालु गाउँपालिका–५ का कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिए । अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको कार्यपालिका सदस्य याम्फुले बताए ।
पुलको क्षमताभन्दा बढी सामग्री बोकेर एकैपटक तीनवटा ट्रक तर्ने क्रममा पुल भाँचिएको कार्यपालिका सदस्य याम्फुको भनाइ छ । तीनवटै ट्रक हाइड्रोपावरको निर्माण सामग्री लिएर वालुङतर्फ गएको याम्फुले जानकारी दिए ।पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेको उनले बताए । चालक र सहचालकलाई भने स्थानीयले उद्धार गरेका छन् ।वि.सं. २०७५ सालमा इप्सुवा हाइड्रपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको हो । रासस
तपाइँको प्रतिक्रिया