चितवन – अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपा (एकीकृत समाजवादी) ले भोलि (आइतबार) चितवनमा प्रदर्शन गर्ने भएको छ ।
एकीकृत समाजवादी चितवन सम्बद्ध मोर्चा संगठनले भोलि दिउँसो १ बजे भरतपुरको चौबिसकोठीमा प्रदर्शन गर्ने भएको हो । आज (शनिबार) एकीकृत समाजवादी चितवनको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर भोलिको प्रदर्शन बारे जानकारी दिईएको हो ।


पार्टीको केन्द्रीय निर्णय अनुसार नै भोलि चितवनमा प्रदर्शन गर्न लागिएको जिल्ला कमिटी उपसचिव एवं मोर्चा संगठन संयोजक नरेन्द्र कन्दङ्ग्वाले जानकारी दिए । प्रदर्शनमा युवा संघ नेपाल, अनेरास्ववियू, अनेमसंघ (समाजवादी), अनेकिम महासंघ, पेशागत महासंघ नेपाल (समाजवादी), नेपाल खेलकुद महासंघ (समाजवादी), नेपाल दलित मुक्त्ति संगठन लगायतको सहभागिता रहने कन्दङ्ग्वाले बताए । कार्यक्रमलाई जिल्लाका नेताहरुले सम्बोधन गर्ने उनले जानकारी दिए ।
ईतिहासका बिभिन्न कालखण्डमा गरिएका असमान सन्धि सम्झौताको पीडा भोगिरहेका नेपाली जनतालाई एमसीसीको अर्को पीडा स्वीकार्य नहुने पार्टीका केन्द्रीय सदस्य एवं भरतपुर महानगर कमिटी इन्चार्ज सूर्य लामिछानेले बताए । लामिछानेले भोलिको प्रदर्शन सरकारको विरोधमा नभई एमसीसीको विरोधमा मात्रै आयोजना गरिएको स्पष्ट पारे ।
एमसीसीका केही बुँदा संशोधनका लागि बारम्बार पहल गरे पनि हुन नसकेकोले विरोधमा उत्रिनु परेको उनको भनाइ थियो । अमेरिकी अधिकारीहरुले पनि संशोधन नहुने भनेपछि वाध्य भएर अन्य कदम चाल्नु परेको समेत उनले बताए ।
‘खाए खा, नखाए घिच’ जस्तो गरी अमेरिकी अधिकारीले बारम्बार दिईरहेको ताकेता र धम्किपूर्ण भनाइले पनि एमसीसी स्वीकार गर्ने अडानमा पार्टी रहेको उनको भनाइ थियो । उनले भोलिको प्रदर्शनमा सहभागिताको लागि आह्वान समेत गरे । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसीविरुद्ध भोलि देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।