साहित्यकार कँडेलद्धारा ‘युवराज नेपाली–अंग्रेजी साहित्य पुरस्कार’ घोषणा

चितवन – प्रकाशोन्मुख कृति ‘द सन अन द स्याण्ड’का लेखक एवम् साहित्यकार ईश्वर कँडेलले आफ्नो पिताको नाममा अंग्रेजी साहित्य सिर्जनामा लाग्नेहरुलाई प्रदान गर्नेगरी पुरस्कार स्थापना गर्ने घोषणा गरेका छन्।
आइतबार भरतपुर ५ स्थित साहित्यकार एवम् कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री निवासमा भएको सानो जमघटमा बुबाको नाम राखेर ‘युवराज नेपाली–अंग्रेजी साहित्य पुरस्कार’ शीर्षकमा नगद २५ हजार रुपैयाँको पुरस्कार घोषणा गरिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन्।
हरेक वर्ष नेपाली साहित्यकारले अंग्रजीमा लेखेका कुनै पनि विधाका साहित्यिक सिर्जना गर्नेहरुमध्येबाट एक जनालाई पुरस्कृत गरिने उनले बताए। अंग्रेजी साहित्यकारहरुको सहभागितामा खोलिएको साहित्यिक संस्था भ्यू चितवनमार्फत उक्त पुरस्कार प्रदान गर्ने उनले बताए। साहित्यकारहरू एलबी क्षेत्री, डा केशव चालिसे, डा एकनारायण पौडेल, उदय अधिकारीलगायतको उपस्थितिमा कवि कँडेलले पुरस्कारको राशि घोषणा गरेका हुन्।
कँडेल आफैँ पनि अंग्रेजी साहित्य सिर्जना गर्ने साहित्यकार हुन्। उनले केही कृति अंग्रेजीमै प्रकाशन गरिसकेका छन्। भरतपुर(७ निवासी कँडेलले चितवनमा रहेर विभिन्न साहित्यिक संस्थाहरुमा समेत नेतृत्व सम्हालिसकेका छन्।
तपाइँको प्रतिक्रिया