गैंडा मरेको घटनामा ठेकेदारलाई पक्राउ पुर्जी जारी भएकोप्रति निर्माण व्यवसायीको आपत्ति

चितवन – भरतपुरको पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारको क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैंडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको प्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।
महासंघले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै गैंडाको निधनको बिषयलाई लिएर गैरकानुनी रुपमा इन्डो सगुन जेभिका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी भएको भन्दै ध्यानाकर्षण जनाएको हो । उक्त क्षेत्रमा गैंडाको प्राकृतिक आवतजावतका क्रममा भएको घटनाको तथ्यलाई तोडमोड गरी अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गरेर निर्माण व्यवसायीलाई दु:ख दिन खोजिएको महासंघका महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
“उक्त निर्माण क्षेत्रमा गैंडाको प्राकृतिक आवतजावतका क्रममा भएको दु:खद निधनको तथ्यलाई तोडमोड गरी निर्माण व्यवसायी उपर प्रचलित कानुन विपरित हुने गरी अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गर्ने, दु:ख हैरानी दिने कार्यबाट बिभिन्न बाधा अड्चनका बाबजुत भौतिक पूर्वाधार निर्माण कार्यमा अहोरात्र खटिएका व्यवसायीहरुको मनोबल गिराउने र निर्माण कार्यलाई अगाडि बढाउन हतोत्साहित कार्य भएको ठहर छ”, विज्ञप्तिमा भनिएको छ ।
उक्त निर्माण स्थलमा नाली बनाइसकेपछि पूर्ण रुपमा सेट हुन केही दिन खुल्लै राख्नु पर्ने भएकोले नपुरिएको विज्ञप्तिमा उल्लेख छ । सम्झौता बमोजिम निर्माण कम्पनीले साइट सुरक्षाको मापदण्ड अपनाएकोले प्राकृतिक रुपमा भएको घटनामा नियोजित रुपमा व्यवसायीलाई झुठा लान्छना लगाईएको महासचिव दाहालको भनाइ छ ।
महासंघले व्यवसायीलाई पक्राउ पुर्जी जारी गरी पक्राउ गर्ने कार्य रोक्न माग गरेको छ । यस्तै घटनाको छानबिन गर्न वन मन्त्रालयद्धारा गठित समितिमा महासंघको प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत समेट्न माग गरिएको छ ।
भरतपुर महानगरपालिका ९ स्थित निर्माणाधिन पुलचोक गोन्द्र्याङ ६ लेन सडकको नालीको खाडलमा परेर आइतबार दिउँसो दुर्लभ एक सिङ्गे गैंडाको मृत्यु भएको थियो ।
तपाइँको प्रतिक्रिया