नागरिक उड्डयन प्राधिकरणको १ अर्ब ८१ रुपैयाँ बक्यौता उठाउन बाँकी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब ८१ करोडभन्दा बढी रकम बक्यौता उठाउन बाँकी रहेको बताएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले उक्त रकम उठाउन बाँकी रहेको जनाएको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काँग्रेसका सांसद दिव्यमणी राजभण्डारीको संयोजकत्वमा नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर लगायतका पदाधिकारीसँग छलफल गरेको थियो । उपसमितिको माघ १२ गतेको निर्णय आज (शुक्रबार) सार्वजनिक गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको बक्यौता रकम सम्बन्धमा छलफल हुँदा प्राधिकरणले २०७८ माघ १० गतेसम्म स्वदेशी तथा विदेशी विभिन्न संघसंस्थाहरूसँग १ अर्ब ८१ करोड ७५ लाख ८८ हजार ५ सय ७९ रुपैयाँ २८ पैसा बक्यौता रकम उठाउन बाँकी रहेको व्यहोरा प्रस्तुत भयो, उपसमितिको निर्णयमा उल्लेख छ । बक्यौता रकम उठाउनका लागि प्राधिकरणलाई आगामी कार्ययोजना उपसमितिमा पेस गर्न भनिएको छ ।
तपाइँको प्रतिक्रिया