काठमाडौं – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले माग गरेको छ ।
महासंघले आज (सोमबार) विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो । कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज एवम् किस्ता बुझाउन नसकेको उल्लेख गर्दै गत असारदेखि हालसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
“पेट्रोलियम पदार्थ प्रत्यक्षरुपमा उपभोग गर्ने यातायात व्यवसायी र आम उपभोक्ता वर्गलाई प्रत्यक्ष असर पर्ने गरी नेपाल आयल निगमले पटकपटक मूल्यवृद्धि गर्नु दुःखद कुरा हो, मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ ।
पेट्रोलियम पदार्थको हालसम्म गरिएको मूल्यवृद्धि फिर्ता नभए महासंघले थप निर्णय लिने विज्ञप्तिमा भनिएको छ ।