क्यानभास सजाउँदै मुलुकभर मनाइयो ‘विश्व जलरङ दिवस’

एटुजेड समाचार

काठमाडौं – नेपाली ललितकला क्षेत्रका कलाकारले कोभिड–१९ को सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई पालना गरी विश्व जलरङ (वर्ल्ड वाटर कलर) दिवस मुलुकभर कला सिर्जना गरी मनाएका छन् ।

प्रदेशगत रूपमा पानी रङमार्फत विभिन्न विषयका दृश्यचित्र क्यानभासमा उतारेर आज दिवस मनाइएको अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिए । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा देशका विभिन्न ठाउँका साथै प्रदेशमा एकैसाथ दिवस मनाइएको र कार्यक्रमको संयोजन समाजका प्रदेश प्रमुखले गरेका उनले बताए ।

दिवस भर्चुअल र भौतिक रूपमा मनाइएको थियो । यसपालि उत्सवकै रूपमा दिवस मनाउने योजना भने नयाँ भेरियन्टसहित फैलिएको कोरोनाका कारण विफल बनाएपछि स्वास्थ्य मापदण्डको पालना गरी दिवस मनाउन सफल भएको समाजले जनाएको छ । दिवसका सन्दर्भमा चित्रकारले कला कार्यशालाको पनि आयोजना गरेका थिए । कार्यशालामा कलाकारहरुले विभिन्न विषयवस्तु र शैलीमा चित्र कोरेका थिए ।

दिवसका अवसरमा आज पोखराका वरिष्ठ कलाकार हरेराम जोजुले अमूर्त शैलीका चित्र उतारेका थिए भने बुटवलका अग्रज कलाकार मन गोल्डीले स्थानीय गाउँले परिवेशलाई क्यानभासमा उतारेका छन् । पूर्वका युवा कलाकार लेख मगरले धरान वरपरका सुन्दर दृश्य र कलाकार डिबी राईले काठमाडौँको साँघुरो गल्लीलाई जलरङमार्फत क्यानभास सजाए ।

उक्त कार्यक्रमलाई प्रदेश नं १ बाट महेन्द्र राई, मधेस प्रदेशबाट मुकेश महतो, बागमती प्रदेशबाट प्रकाश थापा, लुम्बिनी प्रदेशबाट सुमित्रा राना, गण्डकी प्रदेशबाट मनोज तामाङ र कर्णाली प्रदेशबाट उत्तम खड्काले संयोजन गरेका थिए । समाजका वरिष्ठ उपाध्यक्ष डिराम पाल्पालीले मुलुकभरका कलाकारलाई चित्र सिर्जनामा समाजले एकीकृत गरेको उल्लेख गर्दै अझै निरन्तरता पाउनुपर्नेमा जोड दिए ।

उक्त दिवस हरेक वर्ष जनवरी २३ तारिखमा विश्वका विभिन्न देशमा एकै साथ मनाउने गरिन्छ । कार्यक्रममा निर्माण भएका कलाकृति निकट भविष्यमा प्रदर्शनी गरिने आयोजकले जनाएको छ । यसअघि पनि समाजको संयोजनमा कलाकारहरूले विभिन्न कार्यक्रम गरेका थिए भने ठाउँठाउँमा पुगेर सामूहिक रूपमा कला कार्यशाला र प्रदर्शनी गरेका थिए । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू