मंगलबारसम्म ४० लाख मोर्डना खोप आउने, चितवनसहित १७ जिल्लाका बालबालिकालाई दिइने

एटुजेड समाचार

चितवन – मंगलबारसम्म ४० लाख मोर्डना खोप आइपुग्ने भएको छ । १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि ४० लाख मोर्डना खोप आउने भएको हो ।

सरकारले विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत ४० लाख खोप खरिद गरेको हो । उक्त खोप १७ वटा जिल्लाका बालबालिका लागि दिइने स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

यसअघि सरकारले ५७ वटा जिल्लामा मोर्डना र तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा फाइजर खोप चलाइसकेको छ । सरकारले १५ माघ देखि चार दिनका लागि खोप अभियान चलाउन विद्यालय खुल्ला गर्ने निर्णयसमेत गरेको छ ।

उक्त खोप चितवन, काभ्रे, सिन्धुली, डडेलधुरा, सुर्खेत, झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बागलुङ, रूपन्देही, बाँके, दाङ र कैलालीका बालबालिकालाई खोप दिइने छ ।

६० जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिइसकेकाले बाँकी अन्य जिल्लामा अब मोर्डनाको खोप दिइनेछ । त्यसैगरी, सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउने तयारी गरेको छ । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन ८४ लाख फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको चौरासियाले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू