काठमाडौं – पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको मृत्युको घटनाबारे छानबिन गर्न निजामती कर्मचारी अस्पताल (सिभिल)ले छानबिन समिति गठन गरेको छ ।
सिभिल अस्पतालले उपचार गर्ने रकम नभएकै कारण पत्रकार विश्वकर्मालाई अर्को अस्पताल लैजान भनेको र त्यही कारण विश्वकर्माको मृत्यु भएको आफन्तले बताएका छन्।
विश्वकर्माको मृत्युपछि नेपाल पत्रकार महासङ्घ, क्रियाशील दलित पत्रकार सङ्घ, श्रमजीवी पत्रकार सङ्घ र प्रेस काउन्सिल लगायत सङ्घसंस्थाले समेत निजामती अस्पतालमा पत्रकार विश्वकर्माको उपचारमा भएको लापरबाहीबारे निष्पक्ष छानबिन गर्न माग गरेका थिए । अस्पतालका इमर्जेन्सी विभागका प्रमुख डा. दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको हो ।
समितिको सदस्यमा अस्पतालका उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर इन्चार्ज भेषबहादुर बस्नेत रहेका छन् । समितिले तीन दिनभित्र पत्रकार विश्वकर्माको मृत्युमा भएको लापरबाहीबारे सत्य तथ्य सार्वजनिक गर्ने जनाएको छ ।
टिभी टुडेमा कार्यरत पत्रकार विश्वकर्माको गत बिहीबार बिहान साढे ३ बजे पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।