चितवन – नेपालली बजारमा सिटामोलको अभाव पर्न थालेको छ । कोरोना संक्रमण बढेसँगै बजारमा सिटामोल अभाव भएको हो । कोरोना संक्रमण बढीरहेको बेला ज्वरो तथा दुखाइ नियन्त्रणका लागि प्रयोग हुने सिटामोल नै बजारमा अभाव हुन थालेको हो ।
यसको असर चितवनमा पनि देखा परेको छ । देशभर सिटामोल अभावका खबरहरु आएपछि चितवनमा माग ह्वात्तै बढेको छ । अभावको डरले मानिसहरुले सिटामोल भण्डारण गरेर थालेपछि अहिले माग बढेको व्यवसायीहरु बताउँछन् । सिटामोलको माग एकाएक बढेपछि बजारमा अभव देखिन थालेको छ ।
एउटा फार्मेसीमा दिनमा मुस्किलले ६ पत्ता मात्रै बिक्री हुने सिटामोलको माग अहिले १० बट्टासम्म हुने गरेको छ । उपभोक्ताले आवश्यक भन्दा बढी औषधि खरिद गरेर राख्न थालेका छन् । कही कतै कालोबजारीको आशंका पनि गरिएको छ ।
सरकारले शुक्रबारसम्म सिटामोलको आपूर्ति व्यवस्था सहज बनाउने बताएको थियो । तर बजारमा अहिले पनि अभाव कायमै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधि सहज आपूर्ति व्यवस्था मिलाउन बुधबार मात्रै गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकर बैरागीलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि मुख्यसचिव बैरागीले स्वास्थ्य मन्त्रालयलाई औषधि उत्पादन र आपूर्ति तीव्र पार्न निर्देशन दिएका थिए । लगत्तै औषधि लिमिटेड, औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, पैठारीकर्तासहितको छलफलपछि औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले शुक्रबारसम्म सहज हुने बताएका थिए । तर बजारमा अभाव जस्ताको त्यस्तै छ ।
औषधि व्यवसायी संघ चितवनका अध्यक्ष इश्वर भण्डारी बजारको सिटामोलको माग बढेको बताउँछन् । तर माग अनुसार कम्पनीले उत्पादन तथा बितरकले वितरण गर्न नसकेको उनको भनाइ छ ।
व्यवसायीहरुले सिटामोल ल्याउने बित्तिकै बिक्री हुने गरेको उनी सुनाउँछन् । “अहिले घरमा घरमा सिटामोल किनेर राख्न थालेका छन्, यसले गर्दा अभाव हुन थालेको हो, उनी भन्छन्, पहिला एउटा फार्मेसीमा दिनमा ५-६ पत्ता पनि बिक्री नहुने सिटामोल अहिले दिनमै १० बट्टाको माग हुने गरेको छ । स्टक सजिएर बस्ने अवस्था छैन । ल्यायो उत्तिनै खेर सकिन्छ ।”
बजारमा अभाव देखिन थाले पनि बिरामीलाई खानकै लागि भने अहिले नै समस्या नभइसकेको उनको भनाइ छ । “खानलाई अभाव छैन, तर लगेर घरमा भण्डारण गरेर राख्न चाँही अभाव छ, उनी भन्छन्, अहिले अन्य जिल्लाको जस्तो खानलाई पनि पाइएन भनेर आइसकेको अवस्था छैन ।”
सहज आपुर्ती नहुँदा पनि बजारमा अभाव देखिएको उनको बुझाई छ । औषधि व्यवसायी संघले सिटामोल उत्पादनका लागि पहल गरिरहेको उनी बताउँछन् । आफुहरुले सिटामोलको माग गरिरहेको उनको भनाइ छ ।
नारायणी सामुदायिक अस्पतालस्थित फार्मेसीका फार्मेसिस्ट सुजन कोइराला अहिले सिटामोलको अभाव देखिएको बताउँछन् । बजारमा सिटामोलको माग उच्च भएकोले माग अनुसार पूर्ति गर्नै समस्या भइरहेको उनको भनाइ छ ।
कोरोना बढेसँगै सिटामोलको माग पनि बढेको उनको बुझाई छ । यस्तै उपभोक्ताले तत्काल प्रयोगका लागि भन्दा पनि स्टक राख्न थालेको अभवा सृजना भएको उनको बुझाई छ । “अहिले सिटामोल छैन भन्दा पनि हुन्छ । माग बढेको बढ्यै छ तर बजारमा सिटामोल छैन, उनी भन्छन्, तत्काल नै प्रयोग गर्न भन्दा पनि किनेर घरमा राख्नका लागि धेरै उपभोक्ता आउने गरेको पाईन्छ ।”
अस्पतालका बिरामीहरुले भने अहिलेसम्म सिटामोल पाइरहेको उनी बताउँछन् । “हाम्रो अस्पतालका बिरामीहरुले पाइरहेका छन् तर फार्मेसीमा किनेर राख्नका लागि धेरै उपभोक्ता आउँछन्, उनी भन्छन्, स्टक नै राख्न चाँही अहिले छैन । तत्काल थप उत्पादन हुन नसके केही दिनमा अभाव झनै बढ्ने र बिरामीले त पाउन मुस्किल हुन सक्ने उनको बुझाई छ ।
चितवन मेडिकल कलेज अगाडि रहेको आविश्कार फर्माका सञ्चालक बिआर गुरुङ बजारमा सिटामोल पाउनै छाडेको बताउँछन् । अहिले रुघा, खोकी र ज्वरोका बिरामी बढेकोले माग उच्च हुँदा बजारमा अभाव देखिन थालेको उनको बुझाई छ । उनको फर्मामा नै अहिले दैनिक ३० देखि ४० पत्तासम्म सिटामोल माग हुने गरेको छ ।
देशभर सिटामोल अभावको समाचारहरु आएपछि अहिले माग बढेको भरतपुरस्थित चितवन जनरल फार्मेसीका सञ्चालक श्री निवास पौडेल बताउँछन् । उपभोक्ताहरुले अब पाईदैन कि भन्ने डरले अनावश्यक रुपमा पनि किनेर घरमा राख्न थालेको उनको भनाइ छ ।
“समाचारहरु आएपछि अब पाईन्छ कि पाईदैन कि भन्ने त्रासले अनावश्यक रुपमा सिटामोल किनेर राख्ने गरेको पाईन्छ, उनी भन्छन्, त्यसैले अहिले माग बढेको छ र अभाव जस्तो देखिन पनि थालेको छ ।” सामान्य रफ्तारमा गइरहेको सिटामोलको माग एक्कासी बढेकोले धेरै ठाउँमा अभाव देखिएको उनको बुझाई छ ।