युनिकसँग बराबरीमा रोकिएपछि पानस बाहिरियो, सौराहा सेमिफाइनलमा

एटुजेड समाचार

चितवन – नारायणी मोटर्स युनिक क्लब बसेनीसँग बराबरीमा रोकिएपछि पानस युवा क्लब सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगको समूह चरणबाटै बाहिरिएको छ ।

आज (शनिबार) भएको खेलमा समूह ‘ए’ मा रहेका पानस र युनिक १-१ गोलको बराबरीमा रोकिएका हुन् । समूह उपबिजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउन पानसलाई यो खेल जित्नै पर्ने दबाब थियो ।

बराबरीमा रोकिएपछि यसको फाइदा सौराहालाई पुगेको छ । यो नतिजाले सौराहा समूह उपबिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । तालिकामा सौराहाको १० अंक छ । आजको बराबरीपछि पानसको ९ अंक भएको छ । ६ अंक बनाएको युनिक यसअघि नै लिगबाट बाहिरिसकेको थियो ।

यहि समूहबाट केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) यस अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । तालिकामा १५ अंक बनाएको बिएफसी समूह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यससँगै दुबै समूहबाट सेमिफाइनल प्रवेश गर्न चारै टोलीको टुङ्गो लागेको छ ।

कृष्णपुरको रंगशालामा आज भएको खेलको पहिलो हाफमा पानसले गोल गर्ने आधा दर्जन बढी अवसर खेर फाल्यो । प्रतिस्पर्धात्मक खेलको २९ औं मिनेटमा युनिकले अग्रता लियो । युनिकका लागि भुपेश सिंह ठकुरीले गोल गरे । ५८ औं मिनेटमा पानसका जितबहादुर मगरले गोल गरे पनि सेमिफाइनलका लागि त्यो पर्याप्त भएन ।

सेमिफाइनलको दुबै खेल १० गते हुनेछ । पहिलो सेमिफाइनल खेल दिउँसो १२ बजे समूह ‘ए’ को बिजेता बिएफसी र समूह ‘बी’ को उपबिजेता रामपुर फुटबल क्लब रड्सबीच हुनेछ । दोस्रो सेमिफाइनल खेल सोही दिन दिउँसो २:३० बजे समूह ‘बी’ को बिजेता सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवन र समूह ‘ए’ को उपबिजेता सौराहाबीच हुनेछ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिगको फाइनल खेल १२ गते हुनेछ । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो टोलीले समान २५-२५ बजार प्राप्त गर्नेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू