काठमाडौं- पूर्व सासंद समेत रहेका साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भएको छ । ९३ बर्षको उमेरमा बिहिबार साँझ काठमाडौं स्थित ह्याम्स अस्पतालमा उनको निधन भएको हो । मानन्धर २०५८ मा राष्ट्रियसभाको सांसद बनेका थिए । लामो समय देखी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संचालक समिति अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका उनी राष्ट्रिय उद्योगी व्यवसायी महासंघको अध्यक्ष समेत थिए । स्वर्गिय मानन्धरले नेपाल चेम्बर अफ कमर्शको कार्य समिति सदस्य र नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षको जिम्मेवारी पनि वहन गरेका थिए ।
नुनका अन्य कारोबारी सहित निजी क्षेत्र र सरकारको संयुक्त लगानीमा २०२० साल भाद्र २७ गते स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संस्थापक पनि हुन उनी । भारतको साँवरबाट नुन खरिद गरि नेपाल भित्र कारोबार गर्दै गर्दाको अवस्थामा उनी साल्ट ट्रेडिङमा जोडिएका थिए । नेपालमै पहिलो पटक मोजा उद्योग संचालन साथै पेट्रोल् पम्प, आयात निर्यात, प्लास्टिक उद्योग, खाद्य गोदाम, राइस मिल आदीमा लगानी गरेका उनी नेपालको प्रतिष्ठित उद्योगपती एवम् व्यवसायीमा गनिन्छन् । मानन्धर उद्योगपती, वाम राजनीतिज्ञका साथसाथै भाषासेवी, समाजसेवी र धर्मसेवी समेत थिए ।