चितवनमा भुसको आगो झैं फैलिदै कोरोना, छैन सावधानी

एटुजेड समाचार

चितवन – दुई साता अघि चितवनमा कोरोना भाइरसको संक्रमणदर दैनिक करीब दुई प्रतिशत थियो । तर दुई साताको अन्तरमा नै चितवनमा कोरोना संक्रमणदर बढेर दैनिक ३० प्रतिशत भन्दा माथि पुगेको छ ।

पौषको अन्तिमदेखि चितवनमा कोरोना संक्रमण निरन्तर उकालो लाग्दै गएको छ । पौष २९ गतेदेखि चितवनमा कोरोना संक्रमण तीन अंकमा पुगेको हो । पौष २९ गते पाँच सय २६ जनामा कोरोना परीक्षण गर्दा एक सय ४६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसयता कोरोना संक्रमितको संख्या दिनानुदिन तीन अंकमा बढ्दै गएको छ ।

पौष ३० गते एक सय ३५, माघ १ गते ५७, २ गते दुई सय ५४, ३ गते दुई सय ५२, ४ गते तीन सय ७३, ५ गते तीन सय २२ र ६ गते चार सय ८८ जनामा कोरोना देखिएको छ । यो अवधिमा पाँच हजार नौं सय ९६ जनाको स्वाब परीक्षण गरिएको छ । जसमध्ये ३२ प्रतिशत अर्थात एक हजार नौं सय ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

(चितवनमा यसरी उकालो लाग्दैछ कोरोना संक्रमण । स्रोत : स्वास्थ्य कार्यालय)

पौष अन्तिम सातासम्म कोरोनाको न्युन जोखिम क्षेत्र (ग्रिन जोन) मा रहेको चितवन माघ पहिलो साता भित्रै उच्च जोखिम क्षेत्र (रेड जोन) मा पेरिससकेको छ ।

सक्रिय संक्रमित पाँच सय कटेका जिल्ला रेड जोनमा पर्छन् । माघ महिनाको सुरुवातमा नै चितवन रेड जोनमा परेको हो । अहिले सक्रिय संक्रमितको संख्या दुई हजार तीन सय ५९ छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कले चितवनमा दुई सातायता कोरोना संक्रमण भुसको आगो झै फैलिएको देखाउँछ ।

कोरोना संक्रमण तिव्र गतिमा बढीरहदा पनि नागरिकले सावधानी अपनाउन हेलचक्र्याँई गरिरहेका छन् । बजारमा भिडभाड उस्तै छ । स्वास्थ्य मापदण्ड पालनामा पनि नागरिकले चासो दिएका छैनन् । भिडभाडका साथ विवाह, व्रतबन्ध जस्ता कार्यक्रमहरु भइरहेका छन् । प्रशासनले २५ जना भन्दा बढी सहभागि हुने गरी कार्यक्रम नगर्न निर्देशन दिएको छ । तर प्रशासनको निर्देशनको अवज्ञा भइरहेको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी जिल्लामा संक्रमणदर उच्च भएको बताउँछन् । चितवनमा दिनानुदिन संक्रमणदर तिव्र गतिमा बढीरहेको उनी बताउँछन् । पौष १५ उता एक प्रतिशत आसपास रहेको संक्रमणदर अहिले बढेर ३० प्रतिशत भन्दा माथि पुगेको छ ।

संक्रमण उच्च हुँदा पनि नागरिकले सावधानी नपनाउँदा जोखिम झनै बढेको उनको भनाइ छ । “कुनै समय एक प्रतिशत भन्दा कम रहेको संक्रमणदर अहिले ३० प्रतिशत नाघिसकेको छ, उनी भन्छन्, समुदायले सावधानी अपनाएको देखिदैन । भिडभाड जता त्यतै छ ।”

दुई तीन साता संक्रमणदर अझै बढ्ने भएकोले सावधानी अपनाउनुपर्नेमा उनको जोड छ । फागुन दोस्रो साताबाट संक्रमण दर क्रमश: घट्दै जाने उनी बताउँछन् । “संक्रमणदर बढ्दै गएको हामीले दैनिक जानकारी गराइरहेका छौं । भिडभाड गरेर विवाह, व्रतबन्ध भइरहेका छन् । पब्लिकले पनि बुझेर दुई तीन हप्तालाई सबै छोडेर जोगिन पर्छ, उनी भन्छन्, दुई तीन हप्ता संक्रमण अझै तिव्र गतिमा बढ्छ । फागुन दोस्रो सातादेखि घट्छ ।” उनी अघि भन्छन्, “सधैं लकडाउन समाधान होइन । तर अत्यावश्यक बाहेकको काम छोडेर सावधानी अपनाउनपर्छ ।”

कोरोना संक्रमणलाई मध्यनजर गर्दै खोप अभियानलाई बिशेष जोड दिईएको उनी बताउँछन् । जिल्लाका सातै पालिकामा हरेक साता खोप अभियान सञ्चालन भइरहेको छ । उनका अनुसार माघ १५ गतेपछि ६० वर्ष माथिकालाई भेरोसेलको बुस्टर मात्रा लगाउने तयारी भइरहेको छ।

अस्पतालहरु पनि संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहेको उनी बताउँछन् । अहिले अस्पतालमा चितवनका मात्रै ४६ जना उपचाररत छन् । उनीहरु सबै अन्य समस्या भई कोरोना संक्रमण पनि भएका संक्रमितहरु हुन् ।

कोरोना नियन्त्रणका लागि चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले माघ ३ गते २४ बुँदे आदेश जारी गरेका थिए । आदेशमा २५ जना भन्दा बढी सहभागी हुने कार्यक्रमहरु सञ्चालन गर्न नपाईने, २५ जना मात्रै सहभागि हुने गरी सञ्चालन गर्न सबैको एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य तथा सहभागिहरुले पूर्ण मात्राको खोप लगाएको हुनुपर्ने भनिएको छ ।

सपिङ मल, डिपार्ट्मेन्टलस्टोर, सुपरमार्केट वा अन्य प्रकारका पसलमा एक पटकमा ५० जना भन्दा बढी प्रवेश गर्न नपाईने, विवाह, व्रतवन्ध, न्वारन पास्नीजस्ता जस्ता धार्मिक तथा साँस्कृतिक कार्यक्रमका लागि प्रजिअको प्रजिअ स्वीकृति अनिवार्य लगायतका आदेश प्रशासनले जारी गरेको छ । तर प्रशासनको यि आदेशहरुको पालना भने भएको छैन । यसले कोरोना संक्रमण झनै फैलिने जोखिम बढेको छ ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा प्रशासनले मात्रै कडाई गरेर नहुने भन्दै नागरिक आँफै सचेत हुनुपर्ने बताउँछन् । नागरिकले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना नगरेको भन्दै सावधानी अपनाउन उनी आग्रह गर्छन् । “सबैले बुझ्नुपर्ने बेला हो, उनी भन्छन्, प्रशासनले मात्रै गरेर हुँदैन सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।

यता प्रशासनले पनि प्रभावकारी रुपमा बजारमा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना भए नभएको अनुगमन गरेको पाइँदैन । सहायक प्रजिअ शर्मा बजारमा निरन्तर अनुगमन भइरहेको बताउँछन् । अनुगमनका क्रममा आदेश पालना गरे जस्तो गर्ने र अन्य बेला हेलचक्र्याँई गर्दा समस्या भइरहेको उनको भनाइ छ । “अनुगमन निरन्तर भइरहेको छ, उनी भन्छन्, अनुगमन गर्दा राम्रो देखाउँछन्, अरु बेला सावधानी अपनाउँदैनन् ।” आदेश पालनामा कडाई गर्न प्रहरीलाई थप निर्देशन दिने उनको भनाइ छ ।

 

फाइल तस्बिर

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु