वीरगन्ज- पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा वीरगन्जमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो ।
वीरगन्जको माईस्थान चोकमा भेला भएका ओबीसीका नेता कार्यकर्ताहरुले मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्नुको साथै सरकार विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सरकारलाई नालायक, निकम्मा, जनता माराको संज्ञा दिँदै मुर्दावादको नारा लगाएका थिए ।
प्रदर्शनकारीले गौर हत्याकाण्ड दोहोर्याउने अभिव्यक्ति दिएर विवादमा रहेकी मन्त्री रेणु यादवको पद खारेज गर्नुपर्ने माग समेत राखेका छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आधा घण्टा प्रदर्शन गरेपछि पुत्ला दहन गरिएको ओबीसी महासंघ केन्द्रीय उपाध्यक्ष अकलेश साहले जानकारी दिए ।