चितवन जिल्ला लिग : समूह चरणको अन्तिम खेलमा बिएफसीको सहज जित

एटुजेड समाचार

चितवन – सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा केबिए ग्लोबल भरतपुर फुटबल क्लब बिएफसीले सहज जित हात पारेको छ ।

आज (शुक्रवार) भएको खेलमा बिएफसीले वातासिनो जि ब्वाइजलाई ३-१ ले पराजित गरेको हो । बिएफसीको जितमा राज भुसालले दुई तथा नुरल राना मगरले एक गोल गरे । जि ब्वाइजका पदम बहादुर नेपालीले एक गोल फर्काए ।

बिएफसीले खेलको ३५ औं मिनेटमा नुरलको गोलबाट अग्रता लिएको थियो । ४३ औं मिनेटमा जि ब्वाइजले बराबरी गोल फर्कायो । जि ब्वाइजका पदमले गोल गरे ।

५० औं मिनेटमा राजको गोलमा बिएफसीले २-१ को अग्रता लियो । ७० औं मिनेटमा राजले ब्यक्तिगत दोस्रो गोल गरेपछि बिएफसी ३-१ को सहज जित निकाल्न सफल भयो ।

यो जितपछि यसअघि नै समूह ‘ए’ को बिजेताको रुपमा सेमिफाइनलमा स्थान बनाईसकेको बिएफसीको ६ खेलबाट १५ अंक भएको छ । बिएफसी समूह चरणको एक खेलमा मात्रै पराजित भएको थियो । ६ खेलबाट ५ अंकका साथ तालिकाको पाँचौ स्थानमा रहेको जि ब्वाइजको यस अघि नै लिगको समूह चरणबाट नै बाहिरिसकेको छ।

लिगमा शनिबार एक खेल हुनेछ । शनिबार दिउँसो ३ बजे नारायणी मोटर्स युनिक क्लब बसेनी र पानस युवा क्लबबीच खेल हुनेछ । सेमिफाइनलमा स्थान बनाउन पानसलाई उक्त खेल जित्नै पर्ने दबाब छ। हार वा बराबरीले पानसको यात्रा टुङ्गिने छ भने सौराहा सेमिफाइनलमा प्रवेश गर्नेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग १२ गतेसम्म चल्नेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु