नेपाल टेलिकमले फोर जी एलटीई नमस्ते वाईफाई विस्तार गर्दै

काठमाडौं – एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोर जी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । कम्पनीले फोर जी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता सम्पन्न भएको छ । हिजो माघ ५ गते सम्पन्न सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रा.लि. का सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् ।
फोर जी एलटीइ नमस्ते वाईफाईमार्फत नेपाल टेलिकमले हाल व्यक्तिगत प्याकेज र सरकारी प्याकेज गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ । व्यक्तिगत प्याकेज अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक ८०० रुपैयाँमा ६० जीवी ३० दिनका लागि उपलब्ध छ । त्यसैगरी १ वर्षका लागि ९००० रुपैयाँ मा ७२० जीवी प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० जीवको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु. ४०० मा १५ दिनका लागि ६० जीव प्याक लिन सकिन्छ ।
होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत १,२०० रुपैयाँमा १२० जीव प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि १३,५०० रुपैयाँमा १,४४० जीव प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० जीवको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा ६०० रुपैयाँमा १५ दिनका लागि १२० जीव प्याक लिन सकिन्छ । सरकारी प्याकेजमा ३,६५० रुपैयाँ र २,१०० रुपैयाँमा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको छ ।
तपाइँको प्रतिक्रिया