चितवनमा अग्रपंतिमा खटिनेलाई कोरोनाविरुद्धको बुस्टर डोज दिन सुरु

चितवन – चितवनमा आज (आइतबार) देखि कोरोना रोकथाम तथा नियन्त्रणमा खटिनेहरुलाई बुष्टर मात्रा खोप सुरु भएको छ । जिल्लाका सबै स्थानीय तहमा आजदेखि कोरोनाविरुद्ध बुस्टर डोज खोप सुरु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २८ गते बसेको मन्त्रीस्तरीय बैठकको निर्णय अनुसार बुस्टर डोज खोप सुरु भएको हो । गत वर्षको माघ १४ गतेदेखि चैत्र मसान्तसम्म पहिलो डोज लगाएर ६ महिना अघि पूर्ण मात्रा लगाएकाहरुलाई बुस्टर डोज दिइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
भरतपुर महानगरपालिकामा ६ वटा खोप केन्द्रबाट बुस्टर डोज दिइनेछ । आज पहिलो दिन जिल्ला प्रहरी कार्यालयका प्रहरी, जिल्ला कारागारका कर्माचारी तथा कैदी बन्दीलाई बुस्टर डोज दिइएको छ । सोमबार मातृ शिशु क्लिनिकमा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालक तथा शव बाहानका चालकलाई खोप दिईनेछ । यस्तै सोमबार नै जिल्ला प्रेषण क्लिनिकमा महानगरपालिकाका स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाइकर्मी तथा स्वास्थ्य स्वयं सेविकालाई खोप दिइनेछ ।
४ गते मंगलबार जनप्रतिनिधि, सरकारी तथा निजामती कर्मचारी र सार्वजनिक फोहोर संकलन सरसफाइकर्मीहरुलाई मातृ शिशु क्लिनिकमा खोप दिईनेछ । सोही दिन प्रेषण क्लिनिकमा पत्रकार सञ्चारकर्मी, विमानस्थलमा खटिने कर्मचारी, प्राविधिक तथा संस्थागत कर्मचारीलाई खोप दिईनेछ । ५ गते बुधवार बैंकिङ सेवाका कर्मचारी तथा छुटेकाहरुलाई मातृ शिशु क्लिनिकमा खोप दिईनेछ ।
सोही दिन सशस्त्र प्रहरी बल नेपाल १७ नं गण आँपटारी तथा नेपाल प्रहरी शिक्षालयमा मोबाइल क्लिनिक मार्फत खोप दिइने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । रत्ननगर नगरपालिकामा माघ ४ र ५ गते अग्रपंतिमा खटिने कर्मचारीहरुलाई बुस्टर मात्राको खोप दिइनेछ । रत्ननगर २ स्थित रेडक्रस भवनमा दुई दिन खोप अभियान चल्नेछ ।
कालिकाका ३ र ४ गते बुस्टर मात्राको खोप अभियान चल्नेछ । कालिका नगर अस्पताल खोलेसिमल र शक्तिखोर स्वास्थ्य चौकीमा उक्त अभियान चल्नेछ । खैरहनीमा ४ गते मंगलबार अग्रपंतिमा खटिने कर्मचारीहरुलाई बुस्टर मात्राको खोप दिइनेछ । खैरहनी २ चैनपुर स्वास्थ्य चौकी, खैरहनी ६ स्थित खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र, कठार स्वास्थ्य चौकी र कुमरोज स्वास्थ्य चौकीबाट खोप दिइनेछ ।
सोही दिन इच्छाकामना गाउँपालिकाको दारेचोक स्वास्थ्य चौकी र ट्रमा सेन्टरबाट बुस्टर मात्राको खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलाको खोप कार्ड र परिचय पत्र लिएर सम्बन्धित खोप केन्द्रमा सम्पर्क गर्न कार्यालयले आग्रह गरेको छ ।
तपाइँको प्रतिक्रिया