लिपुलेक प्रकरणमा बोले गगन विश्वप्रकाश : सडक निर्माणलगायतका भारतीय गतिविधि रोक्न माग
काठमाडौं – नेपाली काँग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गरेको भनाइप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
सो पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै एकपक्षीय रुपमा नेपाली भूमिमा सडक निर्माणलगायतका भारतीय पक्षको गतिविधि आपत्तिजनक रहेको बताएका छन् ।
‘नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी भएको र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको गगन र विश्वप्रकाशले स्पष्ट गरेका छन् ।
तपाइँको प्रतिक्रिया