स्थानीय तहकाे चुनावबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्ने

काठमाडौं – स्थानीय तहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले आज शुक्रवार सर्वदलीय बैठक बोलाएको छ ।
बैठकमा पालिकाको चुनावको मिति तयसँगै आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव र मतदाता नामावली अद्यावधिकका बारेमा छलफल हुने आयोगले जनाएको छ ।
बिहान ११ बजेपछि सुरु हुने बैठकमा आयोगले पालिका, प्रदेश वा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १७ दललाई बोलाएको छ । आयोगका पदाधिकारीले गएको कात्तिक ८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पालिकाको चुनाव निर्धारित मितिमै गर्नुपर्ने सुझाव दिएका थिए ।



गएकाे पुस ९ गते प्रधानमन्त्री देउवालाई भेटेर आयोगका पदाधिकारीले वैशाख १४ र वैशाख २२ गते पालिकाको चुनाव गर्न प्रस्ताव गरेका थिए । तर सरकारले अहिलेसम्म यसबारे कुनै निर्णय गरेको छैन । आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले दलहरूसँगको छलफलपछि मात्रै निर्वाचनको मिति तय गर्ने जानकारी दिएका थिए ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्थाअनुसार स्थानीय तहका पदाधिकारीको पदावधि आउँदो जेठ ५ मा समाप्त हुँदैछ ।
तपाइँको प्रतिक्रिया