चितवनलाई भेटेरान फुटबलको उपाधि

एटुजेड समाचार

चितवन – नवलपुरमा सम्पन्न राष्ट्रिय स्तरको भेटेरान फुटबलको उपाधि चितवन भेटेरानले जितेको छ । शनिबार कावासोती १७ स्थित सरस्वती माविको मैदानमा भएको फाइनलमा कालभैरव भेटेरान हेटौंडालाई हराउदै चितवन बिजेता बनेको हो ।

प्रतिस्पर्धात्मक खेलमा चितवनले कालभैरवलाई ३-१ ले पाखा लगायो । चितवनको जितमा कप्तान वीरेन्द्र पाण्डेले दुई तथा सुरज गुरुङले एक गोल गरेका गरे । कालभैरवका डेविन श्रेष्ठले एक गोल गरे ।

खेलको ११ औं मिनेटमा गुरुङले चितवनलाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा कप्तान पाण्डेले गोल गर्दै चितवनको अग्रता दोब्बर बनाए । पहिलो हाफको अतिरिक्त समयमा पाण्डेले गोल गर्दै चितवनलाई ३-० को अग्रता दिलाए ।

दोस्रो हाफमा थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा कालभैरवका डेविन श्रेष्ठले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच चितवनका सुरज गुरुङ घोषित भए ।

उपाधि बिजेता चितवनले एक लाखसहित ट्रफी प्राप्त गरेको छ । उपबिजेतामा सीमित कालभैरवले ५० हजारमा चित्त बुझाएको छ । चितवनका हर्कबहादुर गुरुङ प्रतियोगिता भरको सर्वोत्कृष्ट खेलाडी घोषित भएका भने प्रतियोगिता भर चार गोल गरेका चितवनका कप्तान पाण्डे सर्वाधिक गोलकर्ता बने ।

चितवनका राजकुमार गुरुङ उत्कृष्ट गोलरक्षक, कालभैरवका हेमकुमार शर्मा उत्कृष्ट डिफेन्डर, कालभैरवकै दीपककुमार राई उत्कृष्ट मिडफिल्डर चुनिए । उनीहरुले नगद पाँच-पाँच हजारसहित ट्रफी प्राप्त गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु