नेपालमा ओमिक्रोन बढ्दा चितवनमा धमाधम महोत्सव, प्रशासन भन्छ : महोत्सव रोक्दैनौं
चितवन – नेपालमा ओमिक्रोन संक्रमणको ग्राफ उकालो लाग्दै गइरहेको छ । शुक्रबार मात्रै नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सजगता अपनाउन आग्रह गरेको छ । तर यसरी जोखिम बढ्ने संकेत देखिएकै बेलामा चितवनमा भने धमाधम महोत्सव हुँदैछ ।
चितवनकै दुई ठूला महोत्सवहरु यही समयमा हुँदैछ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणी नदी किनार नारायणगढमा भोलि (आइतबार) देखि चितवन महोत्सव हुँदैछ । यसको तीन दिनपछि पौष २७ गतेदेखि रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा टिकौली चौरमा रत्ननगर महोत्सव हुँदैछ । यस्तै खिचरा महोत्सव पनि यही समयमा हुँदैछ ।
चितवन महोत्सव पाँच लाख तथा रत्ननगर महोत्सव तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकहरुको अनुमान छ । यती ठूलो संख्यामा भिडभाड हुने महोत्सवले कोरोना संक्रमण फैलाउने हो कि भन्ने चिन्ता बढेको छ । तर आयोजकहरुले कोरोनालाई मध्यनजर गर्दै यस पटक स्टल संख्या घटाएर फराकिलो खाली ठाउँ राखिने बताएका छन् । यस्तै महोत्सवमा मास्क अनिवार्य पनि गरिने आयोजकहरुको भनाइ छ ।
महोत्सव कोरोना फैलाउने स्रोत बन्ने हो कि भन्ने चिन्ता बढिरहँदा चितवन प्रशासनले भने यसलाई सामान्य तरिकाले लिइरहेको छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी शर्मा दुबै महोत्सव नरोकिने बताउँछन् । चितवनमा अहिले जोखिम नदेखिएको भन्दै महोत्सव नरोकिने उनी बताउँछन् ।
“महोत्सव आँटी हालियो । अब हुन लागिसक्यो । यसलाई त के नै गर्न सकिन्छ र, उनी भन्छन्, कुनै पनि महोत्सव रोकिदैन ।” उनी अघि भन्छन्, “पहिले नै निर्णय भइसकेको हो । अन्तिम अवस्था रोक्न पनि मिलेन । अहिले चितवनमा जोखिम पनि छैन ।”
स्वास्थ्य मापदण्ड भने पूर्ण रुपमा पालना गर्न लगाउने उनी बताउँछन् । स्वास्थ्य मापदण्ड पालना भए नभएको बारे प्रशासनले अनुगमन गर्ने उनको भनाइ छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी महोत्सव आयोजना गरे पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पलना गर्न/गराउन आग्रह गर्छन् । सावधानी अपनाएर महोत्सव आयोजजना गर्न आयोजकहरुलाई उअको आग्रह छ ।
अहिले चितवनमा जोखिम कम नै भए पनि सजग भने हुन पर्ने उनको भनाइ छ । “दुइ वर्षदेखि गर्न नपाएको भएर यस पटक महोत्सव गर्न लागेका होलान् । नगर पनि भन्न सकिन्न, उनी भन्छन् महोत्सव गरे पनि स्वास्थ्य मापदण्ड पालना गर्न पर्छ । भिडभाड कम हुने गरी गर्न पर्छ । सावधानी अपनाएर गरिदिन पर्यो ।”
उनका अनुसार चितवन अहिले कोरोनाको न्युन जोखिम क्षेत्रमा छ । यहाँ संक्रमणदर दुई प्रतिशत भन्दा कम छ भने सक्रिय संक्रमित पनि एक सय भन्दा तल नै छ । यस्तै चितवनमा अहिले १८ वर्ष माथिका ८० प्रतिशत भन्दा बढीले पूर्ण मात्रामा कोरोनाको खोप लगाएका छन् । पहिलो मात्रा मात्रै लगाउने ९० प्रतिशत भन्दा माथि छन् । खोप प्रती चितवनबासीको उत्साहा रहेकोले पनि अवस्था सकारात्मक नै रहेको उनको भनाइ छ ।
तपाइँको प्रतिक्रिया