उखुको समर्थन मूल्य प्रतिक्विन्टल करिब ४६ रुपैयाँले बढ्यो
काठमाडौं । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य निर्धारण गरेको हो ।
मन्त्रिपरिषद्ले प्रतिक्विन्टल ५९० रुपैयाँ उखुको समर्थन मूल्य तोकेको उद्योग मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयले समर्थन मूल्य तय गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेको थियो ।
तोकिएको समर्थन मूल्यमध्ये ५२० रुपैयाँ उद्योगीले र ७० रुपैयाँ सरकारले अनुदान उपलब्ध गराउने छ । गत वर्षभन्दा सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल करिब ४६ रुपैयाँ बढाएको हो ।
सरकारले गत आर्थिक वर्ष २०७७/७८ का लागि उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो । यस्तै, थत आर्थिक वर्ष २०७६/७७ मा ५३६ रुपैयाँ ५६ पैसा तथा आर्थिक वर्ष २०७५/७६ को लागि पनि त्यति नै मूल्य कायम गरिएको थियो ।
चालु आर्थिक वर्षमा सरकारले समर्थन मूल्य निर्धारण नगर्दा उखु किसानहरुले उद्योगीलाई उखु बेच्न थालिसकेका छन् ।
सरकारले न्यून मात्र समर्थन मूल्य बढाउने गरेको भन्दै किसानले यस पटक उखुको मूल्य प्रतिक्विन्टल ६५० रुपैयाँ माग गरिरहेका थिए ।
तपाइँको प्रतिक्रिया