बीमा अभिकर्ता आफ्नो आम्दानीमा मात्र केन्द्रित हुँदा मिस सेलिङ हुन्छ- एरिया प्रमुख अधिकारी
भोलि के हुन्छ कसैले देखेको छैन । भोलिको बिषयमा तपाई हामी सबै अनविज्ञ छौं । भोलि हाम्रो कुनै पनि बेला भौतिक तथा आर्थिक क्षति हुनसक्छ । भोलिका दिनमा आइपर्न सक्ने जोखिम बारे हामी जानकार छैनौं । तर भोलिका दिनमा हुनसक्ने नोक्सानीको क्षतिपूर्तिको ग्यारेन्टी भने गर्न सकिन्छ । र त्यो उपाय हो बीमा ।
बीमा आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपूर्तिको सुनिश्चिता हो । बीमा गर्दा बीमा गर्ने व्यक्ति (बिमित) र बीमा गरिदिने व्यक्ति (बीमक) बीच लिखित सम्झौता हुन्छ । त्यहि सम्झौताका आधारमा बीमा कम्पनीले नोक्सानी बराबरको क्षतिपूर्ति रकम दिन्छ । यसरी नेपालमा बीमा गर्ने धेरै संस्थाहरु छन् । यही मध्येको एक हो महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड । बीमा कम्पनीहरु मध्येकै कान्छो महालक्ष्मीले २०७५ सालमा चितवनको नारायणगढमा शाखा कार्यालय स्थापना गरेको थियो ।
भरतपुर महानगरपालिका १० का कृष्ण विलास अधिकारी यही शाखाका बजार प्रतिनिधिबाट व्यवस्थापक हुँदै अहिले चितवन नवलपुर एरिया प्रमुख भइसकेका छन् । अधिकारी विगत तीन वर्षदेखि महालक्ष्मी लाईफमा आवद्ध छन् । २०६७ सालदेखि शिक्षण पेसालाई निरन्तरता दिँदै आएका अधिकारीले बीमा क्षेत्रमा पनि स्थान बनाइसकेका छन् । तिनै अधिकारीसँग बीमाका विविध पक्षलाई लिएर एटुजेडकर्मी कमला भुसालले गर्नु भएको कुराकानी :
१. अहिले बीमाको बजार कस्तो छ ?
अहिले बीमाको बजार खाली छ । अहिले जीवन बीमा, निर्जीवन बीमा, पूनर्बीमा गरी तीन किसिमका बीमा कम्पनी नेपालमा बजारमा छन् । ती मध्ये महालक्ष्मी लाईफ इन्स्योरेन्स जीवन बीमा कम्पनी हो जहाँ म कार्यरत छु । महालक्ष्मीसँगै १९ वटा जीवन बीमा कम्पनीकै बजार खाली छ ।
बजार खालि किन छ भने बीमा समितिले निकालेको जुन रिपोर्टहरु छ, त्यो रिपोर्टको आधारमा २० देखि २२ प्रतिशतको हारारीमा मात्रै बजार ओगटेको देखिन्छ । लगभग ८० प्रतिश बजार खाली छ । यस कारणले पनि जीवन बीमाको बजार खाली छ भन्न सकिन्छ ।
२. बजार खाली हुनुको मुख्य कारण चाहिँ के होला त ?
इन्स्योरेन्सलाई फोर्स सेलिङको रुपमा लिइएको छ । तर, यसलाई मानिसले आफ्नो आवश्यकताभित्र नलिएको मानिन्छ । मेरो विचारमा बजार खालि हुनुको मुख्य कारण चाहिँ यही हो जस्तो लाग्छ । धेरैजसो शहरी क्षेत्रमा पहिलेदेखिनै यस बारे ज्ञान भएका व्यक्तिहरुले मात्रै बीमा गरेको देखिन्छ । केही शहरी क्षेत्र र ग्रामिण क्षेत्रमा बीमालाई आवश्यकताको रुपमा नलिएको मैले भेटेको छु ।
३. बीमा क्षेत्रमा तपाइँको तीन वर्ष भन्दा बढी अनुभव छ । यस अवधिसम्ममा आउँदा बीमा बारे जनमानसमा बुझाई कस्तो पाउनुभएको छ ?
म यस संस्थामा आवद्ध भएदेखि हालसम्ममा आउँदा केही फरकपन आएको पाएको छु । म बीमा क्षेत्रमा प्रवेश गर्दा बीमा गर्नका लागि भनेर कोही पनि कम्पनीसम्म आउनुहुन्थेन । तर अहिले बीमा कम्पनीमै पुगेर बीमा गर्न थालेका छन् । मानिसहरु इन्स्योरेन्स कम्पनी खोजेर आफै बीमा गर्न जाँदैछन् भने बीमा प्रतिको आकर्षण बढ्दैछ भन्ने कुरा बुझ्न सकिन्छ ।
पहिला–पहिला बीमालाई आवश्यकता हो भन्ने नसोचेका व्यक्तिहरुले नै अहिले बीमा गरिसकेपछि अरुलाई पनि बीमाबारे बुझाउन थालेको देखिन्छ । बीमा बीमितको लागि मात्रै नभएर बीमितका परिवारको सुरक्षा र आम्दानीको स्रोत बचाउनका लागि पनि गर्नुपर्छ भन्ने बुझाईको बिकास हुन थालेको छ । मानिसलाई बीमाको आवश्यकता महशुस हुन थालेको छ भन्ने बुझिन्छ ।
४. महालक्ष्मी लाइफ इन्स्योरेन्सले केही समयदेखि बीमा सम्बन्धि कार्यक्रमलाई अघि बढाएको छ नि, यसको उद्देश्य बारे प्रकाश पारीदिनुहोस् न ।
बीमा सचेतना कार्यक्रम अति आवश्यक छ । किनभने बीमा सचेतनाले मानिसमा बीमा सम्बन्धि सकारात्मक विचारको विकास गर्छ । जसले गर्दा बीमा गर्न आवश्यक छ भन्ने मानसिकताको विकास हुन्छ । यसैलाई मध्येनजर गर्दै महालक्ष्मीले राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको छ ।
कम्पनीले ‘युवासँग महालक्ष्मी लाईफ’ भन्ने कार्यक्रम सञ्चालन गरेको हो । अर्को कुरा गत वर्षदेखि नै प्रत्येक घर–घरमा बीमाको पहुँच पुर्याउने उद्देश्यले ‘एक घर एक बीमा’ भन्ने कार्यक्रम ल्याएका थियौँ । किनभने एक लाख रुपैयाँको बीमा गर्नका लागि तीन सय रुपैयाँले पनि काम गर्छ भने, सामान्य परिवारले पनि तीन सय रुपैयाँको पोलिसी किन्न सक्ने भयो । यस्ता सुविधाले गर्दा महालक्ष्मीको बजार पनि राम्रो छ । र आगामी दिनमा पनि यसरी नै विश्वास जित्नेछ भन्नेमा ढुक्क छु ।
५. कतिपय बीमा कम्पनीका अभिकर्ताले प्रलोभन देक्गाएर बीमा गर्न लगाएको भन्ने गुनासा समय समयमा सुनिन्छ । यस्तो हुनुमा बीमा कम्पनी जिम्मेबार नभएको जस्तो देखियो । यस विषयमा तपाइँ के भन्नुहुन्छ ?
कुनै कुनै बीमा कम्पनीका अभिकर्ताले बीमा कम्पनी र प्रडक्ट भन्दा पनि आफ्नो आम्दानीलाई मात्रै बढी ध्यान दिएर बीमा बेचेको भन्ने पनि कुरा सुन्नमा आएका थिए । जब एजेन्सीले आफ्नो ‘इन्कम’ लाई बढी ‘फोकस’ गर्छ, यसले ‘मिस सेलिङ्’ हुन सक्छ ।
यस विषयमा इन्स्योरेन्स कम्पनीले एजेन्सीलाई वास्तविक रुपमा काउन्सिलिङ गर्न आवश्यक हुन्छ । बीमा प्रडक्टमा लेखिएको कुरा दुवै पक्षबाट ‘कम्युनिकेशन’ हुन सक्यो भने बीमालाई सकारात्मक प्रभाव पार्छ ।
बीमा पोलिसी अन्तर्गत प्रडक्टमा लेखिएको कुरा अभिकर्ताले बीमितसामु अर्कै बनाएर व्यक्त गरेर ‘मिस सेलिङ्’ गरिदियो भने त्यसले समग्र बीमा क्षेत्रमा नकरात्मक प्रभाव पार्छ ।
६. यस्ता समस्याको समाधान गर्न बीमा कम्पनीले के गर्नुपर्छ ?
मानिसले बीमा बचतका लागि गर्ने हो । आयस्रोतको बचत र भोलि भइपरी आउँदा परिवारको सुरक्षा होस् भन्ने उद्देश्यले बीमा गर्ने हो । बीमा कम्पनी आफैले उत्पादन गरेका अभिकर्ताले बजारमा गएर बीमाबारे बुझाएको हुन्छ । यसकारण बीमा कम्पनीले सबैभन्दा पहिला अभिकर्तालाई राम्रोसँग बुझाउन जरुरी हुन्छ । यसमा बीमा कम्पनीहरु अलिकति पछाडि परेको हो कि ? भन्ने लाग्छ । बीमा कम्पनीहरुले यस विषयमा गम्भीर भई अभिकर्तालाई राम्रोसँग तालिम दिएर बजारमा पठाउँदा यस्तो समस्या आउँदैन् ।
७. महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रडक्ट कतिवटा छन् र कुन प्रडक्ट बढी रुचाइएको छ ?
महालक्ष्मी लाइफमा ग्यारेन्टेड डबल प्रडक्ट, आजीवन प्रडक्ट, जीवन हेरचाह, सरल, शाब्दीक, वार्षिक धन फिर्ता लगायत १३ वटा प्रडक्ट रहेका छन् । सबै प्रडक्ट एकदमै राम्रा छन् । यी मध्ये सेभिङ र सेक्रेटरीको पाटो हेर्ने हो भने जीवन हेरचाह प्रडक्ट भने अत्यन्त उत्कृष्ठ छ । यो प्रडक्ट सामान्य आयस्रोत हुनेहरुले पनि किन्न सकिन्छ ।
८. बीमा क्षेत्रमा प्रवेश गर्दै गरेका अभिकर्ताहरुलाई यही क्षेत्रमै स्थापित हुनका लागि कस्तो सुझाव दिनुहुन्छ ?
बीमा क्षेत्रमा केही व्यक्तिहरु खहरे भेल जस्तै आउने गर्छन् । केही समय एक दुई वटा पोलिसी बिक्री गर्ने र त्यसपछि सकिएन भनेर छाड्ने गरेका छन् भने कोही निरन्तर नदी जस्तै चलिरहेका छन् । जो निरन्तर लागेको छ उनीहरुले यसलाई पेशा नै बनाएका छन् । यसरी निरन्तर रुपमा लाग्नेहरुको प्रगती अवश्य हुन्छ र भइरहेको पनि छ ।
अभिकर्ताहरु अध्ययनशिल हुन जरुरी छ । समाजका हरेक कुराहरुको ज्ञान राख्नु पर्छ । सम्भावित ग्राहकहरुको खोज गर्नका पनि अध्ययनशिल हुनु पर्छ । अभिकर्ता पेशा मार्केटिङ पेशा भएको हुँदा बोल्न जान्नु पर्छ । बोल्नका लागि समयसामयिक विषयवस्तुको राम्रो जानकारी राख्नु पर्छ ।
पछिल्लो समय राजनीतिक, प्राविधिक र शिक्षण पेसामा आवद्ध हुनेहरु बीमामा पनि आवद्ध हुन थालेका छन् ।समाजमा विश्वास दिलाउन सामाजिक योगदान पनि हुनुपर्ने आवश्यक देखिन्छ । यस्ता व्यक्तिहरुको प्रवेशले बीमा क्षेत्रको विश्वास बढाएको छ ।
९. तपाई पनि शिक्षण पेशामा पनि हुनुहुन्थ्यो । बीमामा पनि केही वर्षदेखि निरन्तर लागीरहनु भएको छ । बीमा क्षेत्रमा प्रवेश चाहिँ कसरी गर्नुभयो ?
मेरो पढाई व्यवसायीक क्षेत्र ‘म्यानेजमेन्ट’ हो । व्यवसायीक क्षेत्रको मान्छेलाई व्यवसायमै लाग्ने ईच्छा हुन्छ । कोही बैंकिङ्ग तथा इन्स्योरेन्स क्षेत्रमा लाग्ने त कोही उद्योगी व्यवसायी बन्ने भन्ने हुन्छ । आफ्नो क्षेत्र र व्यवसाय पनि मिल्ने भएका कारण मैले इन्स्योरेन्सको करियर रोजेको हो ।
१०. अन्तमा मैले भन्न छुटाएको र तपाइँले भन्न चाहनुभएको केही छ ?
बीमा कम्पनीलाई सबै जनाले विश्वासको रुपमा लिन मेरो आग्रह छ । कमसेकम घरको मुख्य व्यक्ति बीमा गराउन जरुरी छ । आफ्ना बाल बच्चाको सुरक्षा, शिक्षा दिक्षाका लागि बाल बालिकाको बीमा गराउनुहोस् । बीमा गर्नुभएकोले बीमा गराउन चाहनेहरुलाई यस बारे बुझाउन र बीमाको पहुँचसम्म पुर्याउन सहयोग गर्न आग्रह गर्छु ।
तपाइँको प्रतिक्रिया