सामाजिक सञ्जाललाई समाज परिवर्तनमा उपयोग गरौं : बस्नेत
काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको विवेकशील प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको संयोजनमा आज बेनीमा भएको पत्रकारिता आचारसंहिता जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाललाई समाज परिवर्तनको साधनका रुपमा उपयोग गर्नुपर्ने धारणा राखे ।
“दर्ता भएका पत्रकारिता, रेडियो, टेलिभिजन र अनलाइनका सामाजिक सञ्जाललाई प्रेस काउन्सिलले अनुगमन गर्छ,” उनले भने, “प्रविधिको विकाससँगै पाएको सुविधालाई धन आर्जन गर्ने मात्र नभइ समाजमा सकारात्मक सुधारको माध्यम बनाउन आवश्यक छ ।”
कार्यक्रममा सहभागी स्थानीय सञ्चार माध्यमका प्रतिनिधिले वर्गीकरण नजिता नआउँदा पछिल्लो अवधिमा सञ्चालनमा आएका पत्रपत्रिकाले राज्यले दिने लोक कल्याणकारी विज्ञापनबाट वञ्चित हुनुपरेको गुनासो गरेका थिए । काउन्सिलका सदस्य दुर्गा भण्डारीले नयाँ सञ्चार माध्यम र प्रविधिको विकाससँगै थपिएको पत्रकार आचारसंहिता पालनाको चुनौती घटाउन देशव्यापी जागरण अभियान सञ्चालन गरिएको बताए ।
काउन्सिलका अनुगमनकर्ता गीता कठायतले देशभरका पत्रपत्रिका, पत्रकार महासङ्घ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्काले म्याग्दी र अग्रज पत्रकार पुण्य पौडेलले प्रदेशका सञ्चार माध्यम र पत्रकारको आचारसंहिता पालनाको अवस्थाको बारेमा सहजीकरण गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले पत्रकारितालाई तथ्यपरक र विश्वसनीय बनाउन सूचनाको हकको उपयोग गर्न सुझाव दिए । प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले समाचारले अनुसन्धानलाई असफल बनाउन र अदालती पक्रियामा असर पुग्न नहुनेतर्फ सचेत रहनुपर्ने बताए ।
जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठले लोक कल्याणकारी विज्ञापन प्रकाशनबापतको भुक्तानी जिल्लाबाटै गर्न थालिएको जानकारी दिइन् । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष दीपक पौडेलले जिल्लाका पत्रकार आचारसंहिताको विषयमा संवेदनशील रहेको बताए । कार्यक्रममा ४० सञ्चारकर्मीले भाग लिएका महासङ्घ म्याग्दी शाखाका सचिव सन्तोष गौतमले जानकारी दिए ।
रासस
तपाइँको प्रतिक्रिया