झण्डा दिवसको अवसरमा चौबिसकोठीमा फहराईयो राष्ट्रिय झण्डा

एटुजेड समाचार

चितवन – चौथो राष्ट्रिय झण्डा दिवसको अवसरमा भरतपुरमा राष्ट्रिय झण्डा फहराईएको छ । आज (बिहीबार) भरतपुरको मुटु चौबिसकोठीमा नेपालको राष्ट्रिय झण्डा फहराईएको हो ।

भरतपुर महानगरपालिका र हेल्प फर ह्याप्पिनेसको संयुक्त आयोजनामा  ६५ फिटको उचाईमा  २४ फिट अग्लो झण्डा राखिएको हो । सोही स्थानमा गत वर्ष पनि शहिद दिवसको अवसरमा भरतपुर महानगरपालिका र हेल्प फर ह्याप्पिनेसले राष्ट्रिय झण्डा राखेको थियो । आज उक्त पुरानो झण्डा हटाएर नयाँ झण्डा राखिएको हो ।

झण्डोत्तोलन कार्यक्रममा बोल्दै महानगर प्रमुख रेनु दाहालले झण्डा दिवसको शुभकामना दिईन् । उनले चौबिसकोठीमा फहरिएको देशको झण्डा देखेर सबैले गर्व महसुस गर्ने बताईन् । यस्तै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रममा निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत जनाईन् ।

चितवन देशको पूर्व पश्चिमलाई जोड्ने जिल्ला र चौबिसकोठी भरतपुरको मुटु भएकोले सोही स्थानमा नै झण्डा राखिएको हेल्प फर ह्याप्पिनेसका अध्यक्ष नविन तिवारीको भनाइ छ । यसले राष्ट्रियतासँगै पर्यटन प्रवर्द्धनमा पनि सहयोग मिल्ने उनको विश्वास छ ।

झण्डाले चौबिसकोठीको सुन्दरता थप बढाउने उनले बताए । भरतपुरको मुटुमा देशको झण्डा फहराउन पाउँदा छाती गर्वले फुलेको उनको भनाइ छ ।

कार्यक्रममा भरतपुर महानगर उपमेयर पार्वती शाह ठकुरी, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, चितवनका प्रहरी प्रमुख, एसपी ओमप्रसाद अधिकारी, ट्राफिक प्रमुख भग्वानराज थापा, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु