काठमाडौं- सम्पति शुद्धिकरणसम्बन्धी विभागमा परेको मुद्दा मिलाइदिने भन्दै पैसाको मोलमोलाई गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का प्रहरी नायब निरीक्षक (सई) विष्णु ढुङ्गाना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार नक्साल क्षेत्रबाट उनलाई पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । प्रहरीमा परेको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो । उनीमाथि आपाराधिक लाभ (एक्सटर्सन) कसुर गरेको आरोप छ । मुलुकीअपराध संहिताको परिच्छेद २१ को दफा २५३ मा यससम्बन्धी कानूनी व्यवस्था छ ।



उक्त व्यवस्थानुसार कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पुर्याउने डर त्रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरु कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपाराधिक लाभ लिएको मानिनेछ । उक्त आरोप प्रमाणित भएमा कम्तीमा एक वर्ष कैद र १० हजार जरिवाना हुने व्यवस्था छ ।