काठमाडौं – सङ्घीय संसदको आज सुरु भएको हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज मंगलबार पनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरू उठेर नाराबाजी सुरु गरेका हुन्।
बैठक सुरु हुनअघि बसेको एमाले संसदीय दलको बैठकले अवरोधलाई निरन्तरता दिने निर्णय गरेको थियो । सभामुख सापकोटाले जनप्रतिनिधि थलोलाई अवरोध नगरी सिर्जनात्मक बहसमा सहभागी हुन एमाले सांसदलाई आग्रह गरेका छन् ।



विभाजित भएर गएको दल एकीकृत समाजवादी अवैधानिक भएको र त्यसमा सभामुख सापकोटा सहयोगी बनेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ ।
एमाले विभाजन भएयता चलेको संसदका सबै बैठकमा एमालेले अवरोध गरेको थियो ।