चितवन – वरिष्ठ अर्थोपेडिक डा. सुरेश पाण्डेद्धारा लिखित ‘टेक्स बुक अफ अर्थोपेडिक्स’ विमोचन गरिएको छ ।
भरतपुरमा सोमबार साँझ आयोजित एक कार्यक्रममाबीच उक्त पुस्तक विमोचन गरिएको हो । लेखक डा. पाण्डे, अर्थोपेडिक डा. आनन्दप्रसाद रेग्मी, डा. भक्तमान श्रेष्ठ, डा. अर्जुन श्रेष्ठलगायतले उक्त पुस्तक विमोचन गरेका थिए ।


कार्यक्रममा बोल्दै डा. आनन्दप्रसाद रेग्मीले एमबीबीएस र एमएस अर्थोपेडिक्सका विद्यार्थीहरुका लागि उक्त पुस्तकले मद्त मिल्ने विश्वास व्यक्त गरे । उनले उनले सानो आँट र मेहनतले यसरी पुस्तक लेख्न नसकिने भन्दै लेखक पाण्डेको प्रशंसा गरे ।
डा. भक्तमान श्रेष्ठले नेपाली विद्यार्थीका लागि नेपाली लेखकले नै यसरी नै पुस्तक तयार पार्नु पर्ने बताए । उनले नेपालीले नै यसरी पुस्तक तयार पार्न सके विदेशी लेखकले लेखका पुस्तक मात्रै अध्ययन गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे ।
फरक प्रसँगमा उनले चितवनका स-साना अस्पतालहरु मर्ज गरेर ठूला र सुविधासम्पन्न अस्पताल निर्माण गर्नुपर्ने बताए । उनले उपचारका लागि अझै पनि विदेश जानुपर्ने बाध्यता रहेकोले यसलाई अन्त्य गर्नका लागि मेडिकल क्षेत्रमा आवद्ध सबै एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए ।
डा. सुदिपमान वैद्यले डा. पाण्डेद्धारा लिखित पुस्तक अर्थोपेडिक्स क्षेत्रकै लागि गर्वको बिषय भएको बताए । डा. प्रमोद लामिछानेले अर्थोपेडिक्सकै केन्द्रित भएर लेखिएको यो नै पहिलो पुस्तक भएको भन्दै खुशी व्यक्त गरे । यसले सबैलाई हौसला र प्रेरणा मिल्ने उनको भनाई थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखा उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, वरिष्ठ मृगाैला रोग विशेषज्ञ प्राडा माधव घिमिरे, डा गोपेन्द्र देव लगायतले पनि शुभकामना मनतव्य ब्यक्त गरेका थिए ।
लेखक डा. पाण्डेले चिकित्सा क्षेत्र र अर्थोपेडिक विधामा दुरगामी र भावी पुस्ताका लागि उपयोगी हुने गरी पुस्तक तयार पारिएको बताए । १० वर्ष अघिको पुस्तक लेख्ने सपना साकार भएको भन्दै उनले खुशी व्यक्त गरे ।
उनले ६ वर्षको अथक प्रयासपछि पुस्तक तयार भएको बताए । एमबीबीएस र एमएस अर्थोपेडिक्सका विद्यार्थीलाई केन्द्रित गर्दै नेपालका सबै स्वास्थ्य क्षेत्रका विश्वविद्यालयहरुको पाठ्यक्रमलाई आधार मणी पुस्तक तयार पारिएको उनको भनाइ थियो । नेपाली लेखकद्धारा लिखित यस किसिमको पुस्तक अर्थोपेडिक विधामा नै पहिलो भएको दाबी गरिएको छ ।
नेपाल अर्थोपेडिक एसोसिएसन चितवनका अध्यक्ष समेत रहेका डा पाण्डे १५ वर्षदेखि अध्यापन र बिरामीको सेवामा अनवरत रुपमा लागीपरेका छन् । उनी हाल कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा कार्यरत छन् ।