लगानीकर्ताको सम्पत्ति सुरक्षित गर्न मन्त्रालय गम्भीर छ: अर्थमन्त्री

एटुजेड समाचार

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न मन्त्रालय गम्भीर रहेको बताएका छन् । बजारको समस्या समाधान गर्नको लागि मन्त्रालय गम्भीर रुपमा लागेको बताउँदै उनले लगानीकर्तालाई ढुक्क हुन समेत आश्वासन दिएका हुन् ।

सोमबार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्ने कार्यक्रमको फरक प्रशंगमा उनले लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको बताएका हुन् ।

साथै, अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको बताउँदै उनले त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गरे ।

‘तपाईंलाई एउटा भ्रम दिँदै ठग्लान्, ठगीमा पर्नु होला’, मन्त्री शर्माले सर्वसाधारण लगानीकर्तालाई आग्रह गरे, ‘नठगिएर आफ्नो व्यवसाय गर्नुहोस्, त्यसमा अर्थमन्त्री र अर्थ मन्त्रालयले घाटाइदिने/बढाइदिने भन्ने कुरा हुँदैन, यसले संस्थाहरूलाई पारदर्शी बनाउने र बलियो बनाउने, ऐन कानुनलाई व्यवस्थित बनाउने काम गर्ने हो, त्यसमा हामी लागेका छौं,’ उनले भने ।

त्यस्तै, सेयर बजार मन्त्रीले घटाउन/बढाउन भूमिका खेल्न नसक्ने भन्दै त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुने बताए । उनले मन्त्रालयले बजारमा अनियमितता गर्नेविरुद्ध छानबिन गरेर कारबाही समेत गरिसकेको भन्दै मन्त्रालयले गर्नुपर्ने कार्य गरिरहेको स्पष्ट पारे । सेयर बजारको समस्यालाई समाधान गर्न धेरै कुरामा सुधार गर्नुपर्ने देखिएकाले विज्ञहरूसँग त्यसका लागि छलफल भइसकेको र त्यसतर्फ कार्य भइरहेको समेत उनले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु