काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सोमबार भएको निर्वाचनमा दिउँसो साढे २ तीन बजेसम्म १५ सय मत खसेको छ।
मतदान बिहान साढे ११ बजे सुरू भएको थियो। चार घन्टामा एक तिहाइ जति मतदान सकिएको हो। महाधिवेशनमा ४७४३ जना प्रतिनिधि छन्। एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ।



एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब १ घन्टा लाग्ने गरेको छ। २९ मतपत्रमा मत दिनुपर्ने भएकोले समय लागेको हो। कांग्रेसले विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको छैन। कागजी मतपत्र छन्। १२१ केन्द्रीय सदस्य र १३ पदाधिकारीका लागि निर्वाचन भइरहेको छ।
मतदान सुरू भएको करिब १० घन्टामा मतदान सकिने निर्वाचन समितिको अनुमान छ। मतदान सकिएपछि सभापति पदका लागि भने गणना सुरू हुनेछ।
सभापति पदको मतपरिणाम आइसकेपछि कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाएमा मात्रै अरू पदका लागि भएको मतदानको मतगणना सुरू हुनेछ। कसैले पनि ५० प्रतिशत मत नकटाएमा सभापति पदमा भने फेरि मतदान हुनेछ ।