काठमाडौं – कोभ्याक्स सुविधामार्फत थप ६ लाख २० हजार डोज फाइजर खोप नेपाल आउने भएको छ । पुस ९ गते थप ६ लाख २० हजार डोज खोप नेपाल आइपुग्ने सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।
उनका अनुसार कोभ्याक्स मार्फत फाइजरको खोप दोस्रो चरणमा खोप आउन लागेको हो ।
यसअघि कात्तिक ८ गते १ लाख ६ सय २० डोज फाइजर खोप आइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो खोप १२ वर्ष माथिका दीर्घ रोगी र १९ वटा जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरुलाई दिएको थियो ।
अब आउने खोप ती जिल्लाका खोप पाउन बाँकी बालबालिकालाई दिइने जनाइएको छ ।
सरकारले ती जिल्लाका झण्डै १८ लाख बालबालिकालाई खोप लगाउने तयारी गरेको छ । त्यसका लागि विद्यालयमा नै खोप केन्द्र व्यवस्थापन गरिनेछ ।