काठमाडौं – पुबुदु दासानायके नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को प्रशिक्षक छनोट समितिले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णयलाई शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले अनुमोदन गरेको हो।
५१ वर्षीय पुबुदु यसअघि सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त भएका थिए। सन् २०१५ मा क्यानसँग विवाद भएपछि नेपाली क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका उनले पपुवान्युगिनीविरूद्ध अन्तिम खेल खेलाएका थिए।
यद्यपी उनी आइसिसीको अनुरोधमा २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका थिए। त्यतिबेला उनले नामिबिया भएको सिरिज र एमसिसीविरुद्धको सिरिजमा नेपाली टिम सम्हालेका थिए।
पुबुदुको नेतृत्वमा नेपालले डिभिजन ४ हुँदै डिभिजन २ सम्म खेलेको थियो। उनको प्रशिक्षणमा नेपालले सन् २०१४ को टी-२० विश्वकप खेलेको थियो।
नेपाल छाडेपछि उनी सन् २०१६ मा अमेरिकाको प्रशिक्षक नियुक्त भएका थिए। उनले सन् २०१९ मा अमेरिकाको प्रशिक्षक पदबाट राजनीनामा दिएका थिए।
श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडी पुबुदु क्यानडाका नागरिक हुन्। पुबुदुले सन् १९९३ देखि १९९४ सम्म श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका थिए। ११ टेस्ट र १६ एकदिवसिय खेल खेलेका विकेटकिपर ब्याट्सम्यान पुबुबुले सन् २००५ देखि २००६ सम्म क्याडनाबाट समेत खेलेका थिए। मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहिन रहेको थियो ।