तत्काल निर्वाचन अधिकृत नियुक्त गरी अधिवेशन सम्पन्न गर्न कोइरालाको माग
चितवन – नेपाली काँग्रेस चितवनको सभापति पदका उम्मेदवार कैलाश कोइरालाले तत्काल निर्वाचन अधिकृत नियुक्त गरी अधिवेशन सम्पन्न गर्न माग गरेका छन् ।
आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै वर्तमान जिल्ला उपसभापति समेत रहेका कोइरालाले तत्काल निर्वाचन अधिकृत नियुक्त गरी राष्ट्रिय महाधिवेशन अगावै जिल्ला अधिवेशन सम्पन्न गर्न उनले माग गरेका हुन् ।
अधिवेशन नगर्ने र पार्टीलाई तदर्थवादमा सञ्चालन गर्न गरिएको गलत मनसायले गरिएका गतिविधिका कारण निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन अधिकृतको राजीनामाले जिल्ला अधिवेशन अनिश्चित बन्दै गएको समेत विज्ञप्तिमा भनिएको छ ।
आम नेपाली काँग्रेसका सदस्यहरुमा पछिल्लो घटनाक्रमले समयमा नै अधिवेशन नगर्ने नगराउने षड्यन्त्रपूर्ण र योजनावद्ध गतिविधिको आशंका बढ्दै गएको कोइरालाको भनाई छ ।
कांग्रेस चितवनका निर्वाचन अधिकृत पोख्रेलले पनि मंगलबार नै राजीनामा दिएका थिए । उनले आफ्नो स्वास्थ्य अवस्था प्रतिकुल रहेको भन्दै केन्द्रीय निर्वाचन समितिलाई राजीनामा पत्र बुझाएका छन् ।
कांग्रेसको चितवन जिल्ला अधिवेशन मंसिर १५ र १९ गते हुने तालिका छ । १५ गते मनोनयन दर्ता र १९ गते मतदानको कार्यक्रम तय भएको छ ।
तपाइँको प्रतिक्रिया