मदिराजन्य पदार्थको विज्ञापन गर्न नपाउने बोर्डको निर्णयप्रति सरोकारवालाको विरोध
काठमाडौं – सञ्चारमाध्यमहरुमा मदिराजन्य पदार्थको विज्ञापन गर्न निषेध गर्ने विज्ञापन बोर्डको निर्णयलाई सरोकारवालाहरुले विरोध जनाएका छन्।विज्ञापन बोर्डको उक्त निर्णयविरुद्ध नेपाल विज्ञापन संघ, नेपाल मिडिया सोसाइटी, मिडिया अलाइन्स नेपाल, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ र अखिल नेपाल फुटबल संघले संयुक्त विज्ञप्ति जारी गरी विरोध जनाएका छन्।
उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै बोर्डको नितीले नेपालको विज्ञापन व्यवसाय नै धरासायी बन्ने उल्लेख गरेका छन् । विज्ञापन रोक्दैमा वस्तुको उपभोग कम नहुने भन्दै उनीहरुले सभ्य किसिमका र मदिरा उपभोगप्रति उक्साहट नगर्ने प्रकारका विज्ञापनले उपभोक्तालाई चाहनाअनुसारको वस्तु छनोट गर्न मद्दत पुग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘मदिरालाई खाद्यवस्तुकै रुपमा लिने गरिन्छ। हाम्रो देशमा पनि यसलाई खाद्य ऐनले नै नियमन गर्ने गरेको छ। तर यसको विज्ञापन प्रसारण र प्रकाशनलाई रोक्न खोज्नु असम्भव छ’,विज्ञप्तिमा भनिएको छ।
नेपालमा विश्वभरबाट मदिरा आयात हुने बताउँदै यस्तोमा मदिरा उत्पादकले नेपालमा विज्ञापन गर्न नपाए पनि विदेशी मिडिया वा सामजिक सञ्जालमार्फत विज्ञापन गरी नेपाली उपभोक्तामाझ प्रवर्द्धन गर्ने विकल्पमात्रै हुने भन्दै निजी क्षेत्रलाई प्रतिकूल असर पुग्ने विज्ञापन बोर्डको उक्त निर्णय अबिलम्ब फिर्ता गर्न विज्ञप्तिमा माग गरिएको छ।
कानुनअनुसार नेपाली उत्पादक, विज्ञापन एजेन्सी वा नेपाली सञ्चारमाध्यमले कुनै पनि स्थान र माध्यमबाट मदिराको विज्ञापन गर्न नपाउने तर विदेशी ब्रान्डले विदेशी सञ्चार वा एजेन्सीले निरन्तर आफ्नो ब्रान्ड प्रवर्द्धन गर्ने स्थिति आउन सक्नेतर्फ सचेत हुन विज्ञप्तिमा आग्रह गरिएको छ। ‘यसले स्वदेशी लगानी र ब्रान्डमा समेत असर पर्नुका साथै बेरोजगारी सिर्जना भएर व्यवसाय नै धरासायी हुन सक्नेतर्फ संवेदनशील बन्न आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ।
तपाइँको प्रतिक्रिया