लोकतन्त्र जोगाउन म कांग्रेस सभापति बन्नैपर्छ : नेता सिंह
काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताएका छन् । नेतृत्वले हेलचक्र्याई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको उनको भनाइ छ ।
आइतबार नेपाली काँग्रेस किर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफूहरू नै पार्टी सुधारमा लाग्नुपर्ने बताए । पार्टीभित्रका भजन मण्डलीले नेतृत्वलाई अलमलमा पारिरहेको उनको भनाइ छ ।
नेता सिंहले कांग्रेसको इतिहास राम्रो छ भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाइदिने बताए । इतिहासका साथसाथै अझै राम्रो गर्न सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा उनको जोड छ ।
उनले १३औं महाधिवेशनपछि कांग्रेस इतिहासकै कमजोर अवस्थामा आइपुगेको बताए । अहिलेकै अवस्था कायम रहे राष्ट्रिसभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको भन्दै त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने उनको भनाइ छ ।
विवाद मिलाउन पर्नेमा नेतृत्वले त्यसो गर्न नसकेको उनले आरोप लगाए । केही व्यक्तिले आफ्नो पक्षमा मत लिनको लागि धाधली गरेको र सदस्यता वितरणमा केही पुराना काँग्रेसीहरुलाई अन्याय भएको टिप्पणी गरे ।
पार्टीभित्रको बेथिति र विकृति अन्त्यका लागि नयाँ पुस्ता आउनुपर्ने उनको धारणा थियो । । देशमा लोकतन्त्र जोगाउनको लागि पनि काँग्रेसभित्र विधिपद्धती जोगाउन आवश्यक रहेको उनको भनाई थियो ।
त्यस्तै नेता सिंहले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेद्वार बन्न आफू तयार रहेको बताए । पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनको लागि आफू सभापति बन्नुपर्ने उनको तर्क थियो । पार्टीको तल्लो तहदेखि नै संघर्ष गर्दै आएकाले सबैको दु:ख र संघर्ष बुझ्ने क्षमता भएको आफू एक्लो नेता भएको उनले दाबी गरे ।
‘जनताको नजरबाट गिरिसकेका नेतालाई अगाडि राखेर जतिसक्दो राम्रो काम गरे पनि जनताले पत्याउँदैनन्,’ उनले भने, ‘लोकतन्त्र जोगाउनको लागि नेतृत्व परिवर्तन आवश्यक छ । विधि र पद्धती जोगाउनको लागि पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’
तपाइँको प्रतिक्रिया