कलाकारमा दसैँको रौनक : कसले कसरी मनाउँदै ?

चितवन – नेपालीहरुको महान पर्व दसैंँ सुरु भएसँगै गाउँ तथा शहरमा रौनक छाउन थालेको छ । अध्ययन, रोजगारी तथा अन्य शिलशिलामा देश तथा बिदेशका बिभिन्न कुनामा पुगेकाहरु दसैंँको समयमा गाउँघर सम्झिएर फर्किदा छुट्टै रौनक छाउने गर्दछ ।
कोभिडका कारण गत वर्षको दसैंँमा भने खास्सै रौनक भएन । यस वर्ष कोभिड संक्रमणदर घट्दै गएकोले दसैंँले रौनकता पाउने अपेक्षा गरिएको छ । कोभिड घट्दै जाँदा दसैंँ तिहार लगायतका अवसरमा कार्यक्रमहरु हुन लागेका छन् ।
गत वर्ष घर भित्रै बस्न वाध्य कलाकारहरु अहिले कार्यक्रममा व्यस्त हुन लागेका छन् । कार्यक्रमसँगै कलाकारहरु यस वर्षको दसैँ उत्साहका साथ मनाउने योजनामा छन् ।
बद्री पंगेनी
लोक तथा दोहोरी गायक बद्री पंगेनी दसैँ नजिकिएसँगै निकै व्यस्त भएका छन् । पंगेनीलाई आज भोलि सांगितिक कार्यक्रमहरुमा भ्याईनभ्याई छ । उनी देशभरका कार्यक्रमहरुमा धाई रहेका छन् । अहिले उनी चितवन, नवलपुर र बाराका कार्यक्रममा व्यस्त रहेको छ ।
कार्यक्रम सकिएपछि गृहजिल्ला पाल्पा जाने योजना रहेको उनले सुनाए । यस वर्षको दसैँको टिका पाल्पामा नै लगाउने उनको योजना छ । यस्तै व्याडमिन्टन र फुट्सल खेल्ने योजना रहेको समेत उनले बताए ।
वर्षा सिवाकोटी
नायिका वर्षा सिवाकोटीको यस वर्ष दसैंँ टिका छैन । टिका नभए पनि पारिवारिक जमघट गरेर रमाइलो गर्ने उनको योजना छ । उनी दसैंँमा परिवारका सदस्य तथा आफन्त एकै स्थानमा भेटघाट गरेर रमाइलो गर्नुनै विशेष महत्वका साथ लिने गर्छिन् ।
दसैंँ टिका नभएकै कारण उनी नेपालकै पर्यटकीय स्थलहरुको भ्रमण गर्ने योजनामा छिन् । तर कहाँ कहाँ जाने भन्ने योजना भने बनिनसकेको उनी बताँछिन् ।
दुर्गेश थापा
गायक दुर्गेश थापा यस वर्षको दसैँ मनाउन गृह जिल्ला बाग्लुङ जाने तयारीमा छन् । परिवारमा नयाँ सदस्य अर्थात उनको छोराको पहिलो दसैँ भएका कारण पनि उनी यसलाई अझ महत्त्वका साथ लिदैँछन् ।
यस वर्ष बुवा आमा, आफन्त मान्यजनको हातबाट टीका ग्रहण गर्ने योजना रहेको उनी बताँछन् । उनी दसैंँ भन्ने बित्तिकै बाल्यकालका ति रमाइला दिनहरु सम्झिन्छन् । सानो छँदा दसैंँमा मामाघर जाने र दसैंँ टीका लगाएपछि कुन मामाले कति दक्षिणा दिए भनेर गन्ने गरेका क्षणहरु उनी झलझली सम्झिन्छन् । उमेर र समयको परिवर्तन सँगै सबैकुरामा परिवर्तन आएको उनको बुझाई छ ।
एलिना चौहान
गायीका एलिना चौहान अहिले गित रेकर्डिङ र कार्यक्रममा व्यस्त छिन् । पहिले पहिले एक महिना अघिदेखि नै टीका लगाउने दिन गन्दै बस्ने एलिनालाई अहिले रेकर्डिङ र कार्यक्रममा भ्याईनभ्याई छ ।
उनी अष्ठमीको दिनसम्म गृह जिल्ला बिर्तामोड जाने योजनामा छिन् । परिवारसँग बसेर दसैँमा रमाइलो गर्ने इच्छा रहे पनि समय मिलाउनै नसकेको उनी बताउँछिन् । उनलाई दसैँमा परिवार र आफूभन्दा ठूलासँग टीका थापेर आशिर्वाद ग्रहण गर्न, दाजुभाईसँग रमाइलोका लागि तास खेल्न, साथीभाइसँग रमाउन, पिङ खेल्न निकै मनपर्छ । टीकाको अर्को दिन झापा मामाघर जाने उनको योजना छ ।
अस्मिता डल्लाकोटी
अहिले निकै चर्चामा रहेकी लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी दसैँमा भने गृह जिल्ला धादिङ जाने योजनामा छिन् । लामो समयदेखि उनी घर जान पाएकी छैनन् । दोहोरी च्याम्पियनसँगै गीत रेकर्डिङ तथा अन्य कार्यक्रमको व्यस्तताले उनी घर जान पाएकी थिइनन् । यस पटक उनले घरमा बुवा आमा र आफन्तजनको हातको टीका ग्रहण गरिसकेपछि मामाघर जाने योजना बनाएकी छन् ।
प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा
टिकटकबाट मोडलिङमा आएका जुम्ल्याहा दिदी बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडालाई दसैँको रौनकले छोइसकेको छ । जन्मथलो मोरङ भएका उनीहरु केही वर्षदेखि काठमाडौंमा नै दशैँ मनाउँदै आएका छन् । काठमाडौँ र तराइमा मनाइने दशैँमा केही भिन्नता पाएको उनीहरु महसुस गर्छन ।
काठमाडौंको दसैँ मोरङको जस्तो रमाइलो नहुने उनीहरु बताउँछन् । उनीहरु दसैँको अवसरमा बाल आश्रममा खाद्यान्नका सामाग्रीहरु सहयोग गर्ने योजनामा छन् ।
दसैँमा पहिले जस्तो रमाइलो भने नहुने उनीहरुको अनुभव छ । घरमा टीका लगाइसकेपछि मामाघर जाँदा, गाउँमा पिङ खेल्दा, नयाँ कपडा लगाउँदा हुने रमाइलो अहिले पनि झलझली सम्झना आउने उनीहरु बताउँछन् । अहिले त्यस किसिमको छुट्टै रमाइलो कम भएको जस्तो लाग्ने उनीहरुको अनुभव छ ।
तपाइँको प्रतिक्रिया