जनस्तरबाट रंगशाला निर्माण नभए हामी जिम्मा लिन तयार छौं : मेयर दाहाल

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला जनस्तरबाट निर्माण हुन नसके सरकारले जिम्मा लिने बताएकी छन् ।

भरतपुर १० को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । रामपुरमा रंगशाला निर्माणका लागि तागतले भ्याएसम्म धुर्मुस सुन्तली फाउण्डेशनसँग सहजीकरण गरेर अघि बढिरहेको उनको भनाई थियो ।

तर जनस्तरबाट रंगशाला निर्माण हुन नसके समुझौता अनुसार सरकारले काम अघि बढाउने उनले बताईन् । “भरतपुरमा देशकै गौरवको अन्तरराष्ट्रिय स्तरको रंगशाला निर्माण भइरहेको छ । हामीले भरसक आफ्नो तागतले भ्याएसम्म सहजिकरण, सहयोग गरेर अघि बढेका छौं, उनले भनिन्, यदी यो जनस्तरबाट यो मोडलबाट अगाडि बढ्न सकेन भने हाम्रो सम्झौतामा भए बमोजिम हामी जिम्मा लिन तयार छौं । सरकारले यसलाई अघि बढाउँछ ।”

दाहालले यस अघि पनि एक सार्वजनिक कार्यक्रममा फाउण्डेशनले रंगशाला निर्माण गर्न नसक्ने हो भने सरकारलाई दिनुपर्ने बताएकी थिईन् । उनले फाउण्डेशन छिट्टै एउटा ठोस् निर्णयमा पुग्नु पर्ने उनले बताएकी छिन् । उनले रंगशाला निर्माण गर्न नसक्ने हो भने ॠणको भारी मात्रै बोकेर नबस्न पनि फाउण्डेशनलाई आग्रह गरेकी थिईन् । रंगशाला निर्माण सम्पन्न हुने नहुनेमा अनेक शंका उपशंका उत्पन्न भइरहँदा मेयर दाहालले बारम्बार रंगशाला अलपत्र हुन नदिने प्रतिवद्धता जनाउँदै आएकी छन् ।

यता फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले अहिले नै सक्दैनौं भनेर हात उठाउने अवस्था नआइसकेको बताउँदै आएका छन् । उनले अझै पनि रंगशाला निर्माण हुनुपर्छ भनेर लागि परेको भन्दै अहिले नै हार मानेर बाँकी काम सरकारलाई हस्तान्तरण गर्ने फाउण्डेशनको मनस्थिति नरहेको बताउँदै आएका छन् ।

जनस्तरबाट निर्माण भइरहेको रंगशाला अहिले चरम आर्थिक अभावमा परेको छ । निर्माण सुरु भएको दुई वर्ष बितिसक्दा अहिलेसम्म ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ भने रंगशाला परियोजना अहिले नै १६ करोड ॠणमा थलिएको छ ।

तीन अर्ब लगानी लाग्ने भनिएको रंगशालाको ३५ प्रतिशत काम सम्पन्न हुँदा ५४ करोड ६२ लाख २१ हजार १३ रुपैयाँ खर्च भइसकेको छ । जनस्तरबाट आएका सहयोग, धनधान्यान्चल तथा बिभिन्न अभियानलगायतबाट ३८ करोड ५९ लाख ३२ हजार ७ सय ४१ रुपैयाँ संकलन भएको थियो । यो रकम खर्च भएर पनि १६ करोड त ॠण नै लागेको छ । यही अवस्थामा अब रंगशाला निर्माणको काम कसरी अघि बढ्छ भन्ने अन्यौलाता छाएको छ ।

२०७५ साल माघ १६ गते राजधानीको राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिकासँग सम्झौता गरेको थियो । रंगशाला निर्माणका लागि भएको सम्झौतामा आवश्यक रकम फाउण्डेशनले नै उठाउने भनिएको छ । जस अनुसार रंगशाला निर्माणमा लाग्ने भनिएको तीन अर्ब रकम सबै फाउण्डेशनले नै जुटाउनु पर्ने हुन्छ । अहिलेसम्म संकलित रकम छोडेर अझै करिब साँढे दुई अर्ब रकम जुटाउनुपर्नेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू