भरतपुर १० को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

एटुजेड समाचार

भरतपुर – भरतपुर महानगरपालिका वडा नम्बर १० को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । आज (बिहीबार) एक कार्यक्रमकाबीच महानगर प्रमुख रेनु दाहालबाट नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर दाहालले स्थानीय पालिकाको चार वर्षको अवधिमा महानगर अन्तर्गतका १७ वटा वडा कार्यालय भवन निर्माण थालिएको बताईन् । ति मध्ये केही भवन निर्माण सम्पन्न भएर सेवा समेत सुरु भइसकेको र केही निर्माणाधिन अवस्थामा रहेको उनले बताईन् ।

भौतिक पूर्वाधार मात्र स्मार्ट नभई सेवा प्रवाह पनि स्मार्ट तरिकाले नै भइरहेको उनको भनाई थियो । “महानगरले भौतिक पूर्वाधार मात्र स्मार्ट बनाउने होइन, यहाँबाट प्रवाह हुने सेवामा स्मार्टनेस ल्याएका छौं, उनले भनिन्, आवश्यकता अनुसार स्मार्ट सेवा पाए नपाएको समिक्षा गर्न सकिन्छ ।”

उनले महानगरको बिकास र समृद्धिमा कुनै गुनासो नरहने गरी काम भएको दाबी गरिन् । महानगरले कहिले पनि झुटा आश्वासन नदिएको समेत उनको भनाई थियो । “हामीले भनेका कुराहरु पुरा गरेका छौं । नगर्ने कुरा हामीले बोलेका छैनौं । जनतालाई झुटा आश्वासन दिने, यो गर्छु र त्यो गर्छु भनेर धेरै आश्वासनका पोकाहरु जनताकाबीचमा फुकाउने तर केही पनि नगर्ने परिपाटीलाई अन्त्य गर्नुपर्छ, उनले भनिन्, जे बोलिन्छ त्यो पुरा गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ, त्यही हिसाबले हामी अघि बढेका छौं ।”

देशभरका सात सय ५३ स्थानीय पालिका मध्ये भरतपुरलाई नमुना पालिका बनाउने योजना अनुसार नै बिकास निर्माणको काम भइरहेको उनले दाबी गरिन् । यस्तै महानगरले स्वास्थ्य, शिक्षा, खेलकुदलाई पनि बिशेष जोड दिइरहेको उनको भनाई छ । महानगरका सबै वडामा एक वडा स्वास्थ्य चौकीको योजना अनुसार काम अघि बढिरहेको उनले बताईन् । यस्तै उनले महानगरका छ सय किलो मिटर सडक निर्माण गर्ने योजना अनुसार काम भइरहेको समेत बताईन् । अहिलेसम्म महानगरका सबै राजनीतिक दलबाट पनि सहयोग पाइरहेको उनको भनाई थियो ।

महानगर उपप्रमुख पार्वती शाह ठकुरीले भरतपुरमा बिकासको गति सहि ट्र्याकमा अघि बढिरहेको बताईन् । चार वर्षको अवधिमा भरतपुर बिकास उच्चस्तरमा भएको उनको भनाई थियो । “महानगरको बिकास सहि ट्र्याकमा छ । बिकासको अनुभुति सबैले गर्न पाएका छन्, उनले भनिन्, योजनाहरु अझै धेरै छन् । परिकल्पना अनुसार काम गर्न अझै बाँकी नै छ ।”

महानगर प्रवक्ता एवं भरतपुर १० का वडाध्यक्ष अरुण पीडित भण्डारीले नयाँ भवनबाट मुस्कानसहितको सेवा दिइने बताए । उनले वडा कार्यालयमा आवश्यकता अनुसार पर्याप्त कर्मचारी रहेको समेत बताए । “आवश्यकता अनुसार हामीसँग पर्याप्त कर्मचारी छन्, उनले भने, सबैले अनुशासन पालना नगर्दा केही समस्या भएको हुन सक्छ । नयाँ भवनबाट अब मुस्कानसहितको सेवा प्रवाह हुनेछ ।

वडाको पुरानै भवन भएको स्थानमा प्रविधि मैत्री तथा अपाङ्गमैत्री नयाँ भवन निर्माण गरिएको हो । नयाँ भवनको २०७७ साउन १४ गते शिलान्यास गरिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू