एजेन्सी – फेसबुक डाउन हुँदा यसका सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई व्यक्तिगत रुपमा भारी नोक्सानी पुगेको छ ।
केही घण्टाभित्रै उनको कूल सम्पत्तिमा ६ बिलियन डलर(७ खर्ब नेपाली रुपैयाँ) को गिरावट आएको छ । यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान लत झरेका छन् ।
नेपाली समयानुसार सोमबार राती करिब १० बजेतिर संसारभरी फेसबुकका सबै सेवा डाउन भएको थियो । फेसबुकका विभिन्न सेवाका साथै इन्स्टाग्राम, ह्वाट्सएप घण्टौंसम्म ठप्प रह्यो ।
यो क्रम लगभग छ घन्टा चल्यो। झन्डै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट/एपले काम गर्न थालेको जनाएको छ।
ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ।
सेयरको मूल्य घटेसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको छ। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरेका छन्। यसअघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई पछि पारेका छन्।