साफ च्याम्पियनसिप : श्रीलंकाविरुद्ध मैदान उत्रिदै नेपाल

एटुजेड समाचार

काठमाडौं – साफ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा माल्दिभ्सलाई हराएको नेपाल त्यही नतिजालाई निरन्तरता दिने योजनामा छ । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले हराएको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिष डाँगीले खेल सकिन ५ मिनेट बाँकी रहँदा गोल गर्दै नेपाललाई जित दिलाएका थिए ।

उता श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो । दश खेलाडीमा सिमित श्रीलंकाले पेनाल्टीमा गोल खादै पराजित हुन पुगेको थियो ।

नेपाल र श्रीलंका सन् २०१६ पछि पहिलोपटक आमाने–सामाने हुन लागेका हुन् । सन् २०१६ मा बंगबन्धु गोल्डकपमा भएको खेलमा नेपालले श्रीलंकालाई १–० को पराजित गरेको थियो । त्यसअघि साफ च्याम्पियनसिप २०१५ मा भने नेपाल श्रीलंकासँग अन्तिम समयमा गोल खाँदै १-० ले पराजित भएको थियो । समग्रमा नेपालले श्रीलंकासँग १७ खेलमा तीन जित निकालेको छ । ८ खेल बराबरी खेल्दा ६ खेलमा हार बेहोरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले श्रीलंकाविरुद्ध जितको लागि सचेत भएर खेल्ने बताएका छन् । खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले श्रीलंकाविरुद्धको खेल सहज नहुने र संयमित भएर खेल्ने बताएका हुन् ।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले श्रीलंकाविरुद्धको खेल नेपाली फुटबल इतिहासमै पछिल्लो समयका खेलमध्ये सर्वाधिक महत्वपूर्ण हुने बताएका छन् । उनले नेपाल इतिहासकै सर्वाधिक महत्त्वपूर्ण खेलमा जित निकाल्ने योजना रहेको बताएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु