एमालेको विधान महाधिवेशनमा पेस हुने प्रतिवेदन केन्द्रीय कमिटीमा लगिने

एटुजेड समाचार

काठमाडौँ – नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले आसन्न विधान महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठनिक प्रतिवेदनलाई यही असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने तय गरेको छ । सो पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार छलफलका लागि प्रस्ताव केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आइतबार सुरु भई आज सम्पन्न स्थायी कमिटीको बैठकले ती प्रतिवेदनमा स्थायी कमिटीका सदस्यको सुझाव लिने क्रम सकाएको हो । यही असोज १५ देखि १७ गते हुन ललितपुरको गोदावरीमा विधान महाधिवेशन हुँदैछ । एमालेकोे केन्द्रीय कमिटीको गत साउन २५ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णयका आधारमा तयार विधानको मस्यौदा प्रस्ताव मातहतका कमिटीमा सुझावका लागि पठाएको थियो । विधानमा पार्टीको प्रमखु पदमा उमेर हद, कमिटीहरुमा निर्वाचन प्रणाली, सङ्घीयता अनुकूलका व्यवस्थामा छलफल भइरहेको जनाइएको छ । प्रतिवेदनमा स्थायी कमिटीका प्राप्त सुझावका आधारमा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने तय गरिएको छ ।
रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू