काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको ओमानमा भइहरेको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यस सिरिजमा नेपालको यो अन्तिम खेल हो ।
यसअघि तीन खेल खेलिसकेको नेपालले एक खेल जित्दा २ खेलमा हार बेहोरेको थियो । पहिलो खेलमै अमेरिकालाई पराजित गरेको नेपाल त्यसपछि ओमानसँग र अमेरिकासँग पराजित भयो ।
आज घरेलु टोलीसँग मैदान उत्रँदा नेपाल ओमानलाई हराउँदै प्रशिक्षक डेभ वाटमोरलाई सुखद बिदाइ गर्ने लक्ष्यमा छ । नेपाली टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर पनि यस खेलपछि नेपालबाट बिदा हुँदैछन् । उनले सिरिजअघि नै नेपाल क्रिकेट संघ क्यानलाई राजीनामा पठाउँदै ओमानको सिरिज नै आफ्नो लागि अन्तिम हुने बताइ सकेका छन् ।
गत पुसमा एक वर्षका लागि प्रशिक्षक नियुक्त भएका वाटमोरले पारिवारिक कारण देखाउँदै राजीनामा दिएको उल्लेख गरेका थिए । वाटमोरको प्रशिक्षणमा नेपालले गत वैशाखमा घरेलु मैदानमा भएको नेदरल्याण्ड्स र मलेसिया सम्मिलित टी२० त्रिकोणात्मक सिरिजको उपाधि जितेको थियो ।
यस्तै वाटमोरको प्रशिक्षणमा नेपालले ओमान टुरमै पहिलो पटक ओडीआई क्रिकेट खेलेको हो । अहिलेसम्म ओमानमा नेपालले पाँच म्याच खेल्दा तीन खेल जितेको छ भने दुई खेल हारेको छ ।