संकटमा रंगशाला: अब फाउण्डेशनले नै बनाउने कि सरकारलाई दिने ?

एटुजेड समाचार

चितवन – दुई वर्ष भित्र सम्पन्न हुने गरी गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण घोषणा भएको तीन वर्ष हुन लागेको छ । २०७५ साल माघ १६ गते राजधानीको राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिकासँग सम्झौता गरेको थियो ।

तर घोषणा भएको तीन वर्ष तथा निर्माण कार्य नै सुरु भएको दुई वर्ष पुग्नै लाग्दा पनि अहिलेसम्म जम्मा ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । करिब डेढ महिनादेखि त काम नै ठप्प छ । जनस्तरबाट देशकै पहिलो अन्तरराष्ट्रिय रंगशाला निर्माणमा होमिएको फाउण्डेशन अहिले चरम आर्थिक संकटमा परेको छ । त्यही माथि रंगशाला निर्माण परियाेजना १६ करोड ॠणको भारीले थलिएको छ ।

तीन अर्ब लगानी लाग्ने भनिएको रंगशालाको ३५ प्रतिशत काम सम्पन्न हुँदा ५४ करोड ६२ लाख २१ हजार १३ रुपैयाँ खर्च भइसकेको छ । जनस्तरबाट आएका सहयोग, धनधान्यान्चल तथा बिभिन्न अभियानलगायतबाट ३८ करोड ५९ लाख ३२ हजार ७ सय ४१ रुपैयाँ संकलन भएको थियो । यो रकम खर्च भएर पनि १६ करोड त ॠण नै लागेको छ । यही अवस्थामा अब रंगशाला निर्माणको काम कसरी अघि बढ्छ भन्ने अन्यौलाता छाएको छ ।

पछिल्लो समय रंगशाला आउने सहयोग ठप्पै भएको छ । जनस्तरबाट बनाउने भनिएको रंगशालालाई जनस्तरबाट नै आर्थिक सहयोग आउन छोडेपछि अहिले रंगशाला निर्माणको काम रोकिएको छ । अनेक उपाय लगाउदा पनि स्रोत जुट्न नसक्दा काम नै रोक्नु पर्ने बाध्यात्मक अवस्थामा फाउण्डेशन पुगेको हो । बिभिन्न अभियान चलाएर हौसिएको फाउण्डेशनलाई अहिले रंगशाला निल्नु न ओकल्नु भएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले फाउण्डेशनले रंगशाला निर्माणको बाँकी कामको जिम्मा अब सरकारलाई दिनुपर्ने संकेत गरेकी छन् । फाउण्डेशनले बनाउन नसक्ने हो भने अब सरकारलाई दिनु पर्ने उनको भनाई छ । फाउण्डेशनले यस बिषयमा छिट्टै एउटा ठोस निर्णय लिनु पर्ने उनी बताउँछिन् । “फाउण्डेशनले अब छिट्टै एउटा निर्णय लिनुपर्छ, उनी भन्छिन्, सक्नुहुन्छ भने तपाईहरु नै रकम उठाएर रंगशाला बनाउनुहोस्, सक्नुहुन्न भने सरकारलाई दिनुहोस् । बाँकी काम सरकारले नै गर्छ ।”

रंगशाला निर्माणको कामले जुन गति लिनुपर्ने हो त्यो हुन नसकेको उनको भनाई छ । अहिले आर्थिक अभावका कारण रंगशालाको काम रोकिएको उनी बताउँछिन् । सँगै कोभिड माहामारीका कारण पनि निर्माण कार्यले गति लिन नसकेको उनको भनाई छ ।

रंगशाला निर्माणका लागि भएको सम्झौतामा आवश्यक रकम फाउण्डेशनले नै उठाउने भनिएको छ । जस अनुसार रंगशाला निर्माणमा लाग्ने भनिएको तीन अर्ब रकम सबै फाउण्डेशनले नै जुटाउनु पर्ने हुन्छ । अहिलेसम्म संकलित रकम छोडेर अझै करिब साँढे दुई अर्ब रकम जुटाउनुपर्नेछ । तर फाउण्डेशन अहिले यति ठुलो रकम जुटाउन सक्ने अवस्थामा छैन ।

मेयर दाहाल फाउण्डेशनले नसके बाँकी कामको जिम्मा सरकारलाई दिनुपर्ने बताउँछिन् । उनी भन्छिन्, “सक्नुहुन्न भनी ऋण बोकेर नबस्नुहोस्, सरकारलाई दिनुहोस्, सरकारले नै बाँकी काम गरेर निर्माण सम्पन्न गर्छ ।” यसै पनि मेयर दाहालले सुरुवाती दिनदेखि नै रंगशाला निर्माण अभियानलाई अलपत्र हुन नदिने बताउँदै आएकी छिन् । रंगशाला निर्माणका लागि महानगरले फाउण्डेशनलाई १० करोड रुपैयाँ सहयोग गरिसकेको छ । महानगरकै पहलमा करिब २५ करोड रकम संकलन भइसकेको छ । रंगशाला निर्माणका लागि महानगरले कृषि तथा वन विश्व विद्यालयको स्वामित्वमा रहेको जग्गा फाउण्डेशनलाई उपलब्ध गराएको थियो ।

यता फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल अहिले नै सक्दैनौं भनेर हात उठाउने अवस्था नआइसकेको बताउँछन् । अध्यक्ष कट्टेल अझै पनि रंगशाला निर्माण हुनुपर्छ भनेर लागि परेको भन्दै अहिले नै हार मानेर बाँकी काम सरकारलाई हस्तान्तरण गर्ने फाउण्डेशनको मनस्थिति नरहेको बताउँछन् ।

“रंगशाला निर्माणका लागि भरतपुर महानगरले सुरुदेखि नै निकै सहयोगी भूमिका खेलेको छ । मेयर साबले निकै सहयोग गर्नुभएको छ, उनी भन्छन्, रगंशाला बन्नुपर्छ भन्ने उहाँको चिन्तन स्वभाविक हो तर हामीले हात उठाउने, हात झिक्ने, सक्दैनौं भन्ने अवस्था आइसकेको छैन ।”

केही दिन भित्रै सबै समितिको बैठक डाकी कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल गरिने उनी बताउँछन् । फाउण्डेशन संघीय सरकारका अर्थमन्त्रीलाई भेटेर आर्थिक अनुदानका लागि प्रस्तावना समेत राखेको छ । यस बिषयमा अर्थ मन्त्रालयबाट सकारात्मक प्रतिक्रिया आएको उनी बताउँछन् । “अर्थ मन्त्रीलाई भेटेर आर्थिक स्रोत जुटाउनका लागि प्रस्तावना राखेका छौं । मन्त्रालय यस बिषयमा सकारात्मक नै छ, उनी भन्छन्, सरकारले सहयोग गरेको खण्डमा छिट्टै रंगशाला ठडिन्छ ।”

अब सरकारको सहयोग बिना रंगशाला निर्माणको काम अघि बढ्न नसक्ने अवस्था छ । पछिल्लो समय फाउण्डेशनलाई स-सम्मान बिदाई गर्दै सरकारले नै रंगशाला निर्माणको जिम्मा लिनु पर्ने तर्क पनि उठिरहेका छन् । यसै पनि फाउण्डेशन अहिले आर्थिक स्रोत जुटाउनका लागि अर्थ मन्त्रालय नै धाइरहेको अवस्था छ ।

रंगशाला निर्माणको कामलाई सरकारले आफ्नो योजनामा समेट्नु पर्नेमा फाउण्डेशनले जोड दिइरहेको छ । अहिलेकै अवस्थामा अब जनस्तरबाट आर्थिक स्रोत जुट्न मुस्किल जस्तै छ । सरकारले स्रोत मात्रै जुटाइदिने हो कि बाँकी कामको जिम्मा सरकार आँफैले लिने हो भन्ने चासोको बिषय बनिरहेको छ ।

रगंशाला निर्माण अभियानमा बिभिन्न माध्यमबाट जोडिएकाहरु पनि अब सरकारलाई नै जिम्मा दिनुको विकल्प नभएको संकेत गर्छन् । फाउण्डेशनले सक्दो प्रयास गर्दा पनि चरम आर्थिक संकट परेको भन्दै अब सरकारले नहेरे रगंशाला निर्माण सम्पन्न हुन मुस्किल पर्ने उनीहरुको तर्क छ । अहिलेसम्मको प्रयास र मेहेनतको कदर हुने गरी फाउण्डेशनलाई सम्मान गरेर सरकारले निर्माण सम्पन्न गर्नुपर्ने अवस्था आइसकेको उनीहरु बताउँछन् ।

‘मोटो रकम बोले, मुठ्ठी खोलेनन्’

रंगशाला निर्माणका लागि धनधान्यान्चल महोत्सव आयोजना गरिएको थियो । धनधान्यान्चलमा ६९ करोड बोलकबोल भएको थियो । तर बोलकबोल मध्ये ९ करोड रकम मात्रै उठेको छ । अझै ६० करोड रकम उठ्न बाँकी नै रहेको छ ।

धनधान्यान्चलमा रंगशाला निर्माणका लागि ठुला रकम सहयोग घोषणा गरेकाहरुले दिन आनाकानी गरिरहेका छन् । ठुला रकम बोलेकाहरुको मुठ्ठी नखुल्दा रंगशालाको काम नै रोकिने अवस्था आएको हो । बोलकबोल रकम उठाउनका लागि बारम्बार पहलकदमी भइरहे पनि उठ्न भने सकेको छैन ।

धेरैले बोलेको रकम छिट्टै उपलब्ध गराउने आश्वासन मात्र दिने गरेका छन् । तर दिन भने आनाकानी गरिरहेका छन् । केहीले भने रंगशाला निर्माण हुनेमा नै शंका व्यक्त गर्दै बोलकबोल रकम दिन आनाकानी गरिरहेको बुझिएको छ । धनधान्यान्चलमा हौसिएर मोटो रकम दिने घोषणा गरेकाहरुले रकम हस्तान्तरण नगर्दा फाउण्डेशन चरम आर्थिक संकटमा परेको हो ।

 

तस्बिर : धुर्मुस सुन्तली फाउण्डेशन

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू