चितवन – चितवनमा बालबालिकाले लगाउने नियमित खोप प्रभावित भएको छ । कोभिड महामारीका कारण गत वर्षदेखि नै नियमित खोप कार्यक्रम प्रभावित भएको हो ।
खोप कार्यक्रम सञ्चालन भए पनि कोभिड जोखिमका कारण अभिभावकहरुले बालबालिकालाई खोप केन्द्रसम्म लैजान सकेका छैनन् । खोप अभियान नै प्रभावित हुँदा बालबालिकाहरुमा बिभिन्न किसिमका समस्या देखिन थालेका छन् ।
बालबालिका खोप लगाउनबाट बञ्चित हुँदा रोग प्रतिरोधात्मक शक्ति बिकास हुन नसकेको स्वास्थ्य कार्यालय चितवनका खोप अधिकृत अमृत महर्जनले बताए । यस कारण बालबालिकाहरुमा मौसमी रुघा खोकी, ज्वरो, निमोनिया जस्ता समस्या देखिन थालेको छ ।
आर्थिक वर्ष २०७७-७८ मा ७४ प्रतिशत बालबालिकाले मात्रै नियमित खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसअघि आव ७६-७७ मा ८१ प्रतिशतले नियमित खोप लगाएका थिए ।
खोप अधिकृत महर्जनका अनुसार कम्तिमा ९० प्रतिशतले नियमित खोप लगाउनुपर्नेमा गत आवमा मुस्किलले ७४ प्रतिशतले मात्रै लगाएका छन् । लामो समय लकडाउन तथा स्थानीय प्रशासनले कोभिड नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाका कारण खोप अभियान प्रभावित भए पनि अहिले निषेधाज्ञा खुकुलो हुँदा समेत धेरै बालबालिकाले खोप लगाएका छैनन् ।
“हामीले खोप कार्यक्रम चलाएका छौं । पहिला लकडाउन र निषेधाज्ञाले प्रभावित भयो तर अहिले निषेधाज्ञा खुकुलो हुँदा समेत भिडभाड हुने डरले सबै अभिभावकहरुले आफ्नो बालबच्चालाई खोप लगाउन ल्याउनु भएको छैन, उनले भने, बच्चा जन्मिएदेखि १५ महिनासम्म १२ वटा रोगविरुद्धको खोप लगाउन पर्छ ।”
भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. युवानिधी बसौलाका अनुसार नियमित खोप अभियान प्रभावित हुँदा भाइरल ज्वरोका बिरामी बालबालिकाहरुको संख्या अहिले उच्च छ । अस्पतालमा आउने बालबालिकाहरु मध्ये ७० देखि ८० प्रतिशत भाइरल ज्वरोका बिरामी छन् । “नियमित खोप प्रभावित हुँदा बालबालिकाहरुमा पनि अहिले उच्च ज्वरो, निमोनिया र रुघाखोकीको समस्या देखिएको छ, उनले भने, अस्पताल आउने मध्ये ७० देखि ८० प्रतिशत ज्वरोका बिरामीहरु छन् ।”
५ वर्ष मुनीका बच्चाहरुमा ज्वरो र मौसमी रुघाखोकीको समस्या बढी देखिएको उनले बताए । कोभिडका कारण बालबालिका पूर्ण खोप लगाउन नपाउँदा यस्तो समस्या देखिएको उनको भनाई छ । नियमित खोप छुटेका बालबालिकाहरुलाई खोप लगाउन उनको आग्रह छ । “कोभिडका कारण धेरै बच्चाहरुको खोप छुटेका छ, उनले भने, छुटेका बच्चाहरुलाई नियमित खोप लगाउन सम्पूर्ण अभिभावकहरुलाई आग्रह गर्छु ।”
डिपिटी÷ हेपाटाइटिस बि.हिब, बिसिजी र पोलियो नामक महत्वपूर्ण खोप प्रभावित बनेको छ । शिशु जन्मिने वित्तिकै लगाइने व्यासिलस क्यालमेट ग्यूरीन (बिसिजी) खोप गत वर्ष ७७ प्रतिशले मात्रै पाएका छन् । बिसिजी क्षयरोगविरुद्धको खोप हो । यसले क्षयरोगका साथै भाइरल ज्वरो, श्वासप्रश्वास तथा शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई मजबूत बनाउँछ । उक्त खोप एक डोज मात्रै लगाए पुग्छ ।
डिपिटी÷ हेपाटाइटिस बि.हिब खोप ७५ प्रतिशले लगाएका छन् । यो खोपले बालबालिबालाई भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बि, हेमाफिलस बिबाट हुने मेनिन्जाइटिसबाट जोगाउँछ । उक्त खोप बच्चा जन्मिएको ६, १० र १४ हप्ता गरी तीन पटक लगाउनुपर्छ ।
त्यस्तै ओरल पोलियो भ्याक्सिन (ओपिभी) ६९.२ प्रतिशतले पाएका छन् । यस प्रकारको खोप पनि बच्चा जन्मिएको ६, १० र १४ हप्ता गरी तीन पटक लगाउनुपर्छ । निमोनियाबाट बचाउने पिसीभी खोप जन्मिएको ६ हप्ता, १० हप्ता र १४ हप्ता गरी खोप पनि तीन पटक दिइन्छ । उक्त खोप चितवनमा ७०.७ प्रतिशतले मात्रै पाएका छन् ।
यता, जापानीज इन्सेफलाइटिस् (जेआई) ७० प्रतिशतले लगाएका छन् । यो खोप १२ महिनादेखि २३ महिना सम्मका बालबालिकालाई दिइन्छ । यसले जापानिज इन्सेफलाइटिस हुनबाट बचाउँछ । बच्चा जन्मिएको ९ महिना देखि एक वर्ष भित्रको उमेरमा लगाइने दादुरा÷रुवेला खोप ६७ प्रतिशतले लगाएका छन् । दुई पटक लगाउनुपर्ने एफआइपिभि खोप ७४.५ प्रतिशतले लगाएका छन् ।
बालबालिकाहरुलाई नियमित खोप लगाउन उनको आग्रह छ । “कोभिडका कारण नियमित खोप लगाउन नपाएका बालबालिकाहरुको खोप अभियान चलिरहेको छ, उनले भने, सबै खोप क्रमश लगाउन पाउनेछन् । बालबालिकाको खोपमा अभिभावकको ध्यान जान जरुरी छ ।”
चितवनको सिद्धि र कोराकमा सबैभन्दा बढी खोप अभियान प्रभावित भएको छ । चेपाङ समुदायको उक्त बस्तीमा जनचेतनाको अभावका कारण खोप अभियान प्रभावित भएको हो । खोप सम्बन्धी चेतना नपुगेको केही स्थानीय तहमा बाग्मती प्रदेश सरकारले पूर्ण खोप योजना लागु गरेको छ । सरकारको यो योजना अन्तर्गत पूर्ण खोप लगाएको कार्ड भएमा तीन हजार रुपैयाँ प्रदान गर्ने कार्यक्रम लागु गरेको हो ।