कलाकारको तीज : कसले कसरी मनाउँदै ?

चितवन – हिन्दु नारीहरुको महान चाड हरितालिका तीज घर आँगनमा नै आइसकेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी तीज मनाउने गर्दछन् । तीजमा नारीहरू व्रत बस्नुका साथै नाचगान गरेर रमाइलो पनि गर्ने गर्दछन् ।
अघिल्ला वर्षहरुमा तीजमा बिभिन्न कार्यक्रमहरु हुने गर्दथे । कलाकारहरु देश बिदेशमा हुने कार्यक्रममा नै व्यस्त हुने गर्दथे । कलाकारहरुलाई कार्यक्रममा भ्याई नभ्याई हुने गर्थ्यो । तर गत वर्षदेखि भने कोरोना महामारीका कारण कार्यक्रमहरु ठप्पै भएका छन् । कार्यक्रम नहुँदा कलाकारहरु फुर्सदिला भएका छन् ।
कार्यक्रम नभए पनि केही कलाकार भने तीजका गीतको सुटिङमा नै व्यस्त छन् । अहिले देशभर निषेधाज्ञा खुकुलो हुँदै गए पनि तत्काल कार्यक्रम हुने अवस्था छैन । तत्काल जमघट गरिहाल्ने अवस्था पनि छैन । कार्यक्रम नहुँदा यस वर्ष कलाकारहरु तीज कसरी मनाउँदैछन् त ?



सुनिता दुलाल
चर्चित गायिका सुनिता दुलालले यस वर्षको तीज घरमै मनाउने भएकी छन् । कोभिडका कारण दुई वर्षदेखि कार्यक्रमहरु नभएका कारण तीज प्रभावित बनेको उनी बताउँछिन् । विगतका वर्षमा जस्तै स्टेज कार्यक्रम नभएको र अहिले पनि भौतिक उपस्थितिमा कार्यक्रम गर्ने सक्ने वातावरण नबनेका भन्दै दुलालले भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने भएकी छन् ।
उनी व्रत भने बस्छिन् । उनी भन्छिन, “विगत १० वर्षदेखि तीजको व्रत बस्दै आएकी छु । यस वर्षको तीजमा पनि व्रत बस्ने र काठमाडौंमा परिवारसँगै रमाइलो गर्ने योजना छ । यस वर्ष तीजमा दुलालले परदेशी छोरी र स्वामीकी पियारी गरी दुईवटा गित गाएकी छन् ।”
रमिला न्यौपाने
गायिका रमिला न्यौपाने पनि तीजको दिन इन्डोर कार्यक्रममै व्यस्त रहने भएकी छन् । निषेधाज्ञा खुलेको भए पनि बाहिरी कार्यक्रम हुने अवस्था छैन । “बाहिर कार्यक्रमहरु हुन नपाएपनि इन्डोर कार्यक्रममै व्यस्त रहनेछु, उनी भन्छिन्, विगतका वर्षहरुमा तीजको समयमा दुई तीन महिना अघि नै कार्यक्रमका लागि विदेशमा जान्थेँ। कोभिडका कारण नेपालमा पनि कार्यक्रमहरु हुन सकिरहेका छैनन् । त्यही पनि भर्चुअल कार्यक्रममा सहभागी भइरहेकी छु ।”
हिन्दु धर्म र परम्परा अनुसार तीजको दिनमा विवाहीत नारीहरु श्रीमानको आयु वढाउन र अविवाहीत नारीहरु राम्रो, असल श्रीमान पाउन वर्त बस्ने गर्दछन् । न्यौपाने पनि अनुकुल मिले व्रत बस्ने बताउँछिन् । उनले यस वर्षको तीजमा ‘नाइ भन्न पाइँदैन’ भन्ने गीत निकलेकी छिन् ।
शान्ति श्री परियार
चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियारको यस वर्षको तीज घरमा नै मनाउने योजनामा छिन् । उनी सानो छँदा नयाँ कपढा लगाउने, नाँच्ने गाउने गरेको सम्झिन्छिन् । अहिले भने पेशागत रुपमा तीजका कार्यक्रममा जाँदा रमाइलो लाग्ने र तीज आएको जस्तो महशुस हुने उनी बताउँछिन् ।
तीजको करिब एक साता अघिदेखि उनी टेलिभिजनमा प्रत्यक्ष प्रसारणका कार्यक्रमहरुमा दौडिरहेकी छन् । गत वर्षको तुलनामा यस वर्षको तीज उनलाई फलदायी हुने देखिएको छ । उनी भन्छिन्, “गत वर्ष एक वटा पनि शो भएको थिएन् । यस पटक भने कार्यक्रमहरु भइरहेका छन् । दर खाने कार्यक्रमहरु पनि भएका छन् ।”
टीका प्रसाँई
गायिका टीका प्रसाँई भने यस वर्षको तीजमा व्यस्त छिन् । निषेधाज्ञा खुकुलो भएसँगै उनी सामान्यतया दर खर खाने कार्यक्रममा व्यस्त रहेकी छन् । सरकारले तीजको मुखैमा निषेधाज्ञा खुकुलो गरेका कारण गत वर्ष भन्दा यस वर्षको तीज केही विशेष हुने उनी बताउँछिन् ।
तीज भन्ने वित्तकै बच्चा बेलाको सम्झना धेरै आउने गरेको उनी सुनाउँछिन् । “सानो छँदा आमाले पकाएका परिकार विशेष गरी दरमा स्पेशल दही र काँक्रोको मिसावट अचारको सम्झना आउँछ । तीजमा वर्षौँदेखि भेट नभएका दिदी बहिनी र आफन्तसँग भेट हुन्थ्यो तर अहिले त्यस्तो छैन ।” विगतका वर्षहरुमा देश तथा विदेशमा कार्यक्रममा व्यस्त हुने प्रसाँई यसपटक तीजको समयमा भने गीत गाउन र सुटिङमा व्यस्त छिन् ।
करिश्मा ढकाल
हरेक वर्ष तीजको समयमा म्युजिक भिडियोमा व्यस्त रहने अभिनेत्री करिश्मा ढकाल यस वर्षको तीज घरमै रमाइलो गरी मनाउने योजनामा छिन् । कोभिडका कारण बाहिर जमघट गर्ने अवस्था नभएकोले गत वर्ष जस्तै घरमा परिवारसँग नै तीज मनाउने योजना रहेको उनी सुनाउँछिन् ।
केही दिनदेखि उनी दर खाने कार्यक्रममा व्यस्त छिन् । “परिवार, दिदी बहिनी र आफन्तसँगै घरमै रहन पाउनु मेरा लागि विशेष हो । अझै पनि कोभिडको डर छ त्यसैले घरमै रमाइलो गरी बस्ने योजना छ ।”
तीजको दिन अविवाहीत महिलाले असल श्रीमान पाउँ भनी व्रत बस्ने चलन छ । तर करिश्मा भने व्रत नबस्ने भएकी छन् । उनी भन्छिन् “भगवान प्रति आस्था छ तर, व्रत चाँही बस्दिन । सानै उमेरदेखि व्रत नबस्ने भएर पनि होला अहिले पनि व्रत वस्न मन लाग्दैन । व्रत बस्दैमा राम्रै श्रीमान पाइन्छ भन्ने पनि त छैन् ।”
गत वर्षको तीज वाग्लुङमा मनाएकी थिइन् । गत वर्ष कोभिडका कारण कला क्षेत्र प्रभावित बनेको थियो । महामारीकाबीच पनि उनले स्वास्थ्य सतर्कता अपनाएर १२ वटा तीज गितमा अभिनय गरेकी थिइन् । यस वर्ष ढकालका ५० भन्दा बढी तीज गितका भिडियोहरु सार्वजनिक भइसकेका छन् ।
तपाइँको प्रतिक्रिया