चितवनमा पार्टी प्यालेस खोल्न पाइने, विद्यालय भने नखुल्ने

एटुजेड समाचार

चितवन -चितवनमा जारी निषेधाज्ञा १० दिन थप भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञा भदौ ३१ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको छ । पछिल्लो निषेधाज्ञा आइतबार राति १२ बजे सकिदैछ ।

प्रशासनले निषेधाज्ञा थप गर्दै केही क्षेत्रलाई खुकुलो बनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार २१ गते सोमबारदेखि जिल्लाभर पार्टी प्यालेसहरु सञ्चालन गर्न पाइने भएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै क्षमताको ५० प्रतिशत सहभागी गराई बेलुकी ६ बजेसम्म पार्टी प्यालेसहरु खोल्न पाइने प्रजिअ लामिछानेले बताए । यस्तै सोमबारदेखि नै कानुन बमोजिम गर्ने पर्ने साधारणसभा, सम्मेलन तथा अधिबेशन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई जनकारी गराएर गर्न सकिने समेत उनले बताए ।

यस्तै होटल तथा रेष्टुरेन्टहरु पनि राति ९ बजेसम्म खोल्न पाइने भएको छ । विद्यालयमा भौतिक रुपमा उपस्थित भइ पठन पाठन गर्न/गराउन भने नपाईने प्रशासन कार्यालयद्धारा जारी आदेशमा भनिएको छ । तर स्वीकृत स्मार्ट लकडाउन सम्बन्धि कार्यविधि २०७८ अनुसार जोखिमको स्कोरिङ्ग तथा विश्लेषण गर्दा सञ्चालन गर्न सकिने अवस्था देखिएमा मात्र विद्यालय व्यवस्थापन समितिको सिफारिसको आधारमा सम्बन्धित स्थानीय तहले डिसिसिएमसीसँग समन्वय गरेर पठन पाठन गर्न सक्ने प्रजिअ लामिछानेले बताए । कार्यविधि अनुरुप विद्यालय सञ्चालन गर्न सकिए देखिए पनि जोखिम नहुने उपयुक्त विधिको सुनिश्चितता गरेर मात्रा आगामी असोज १ गतेपछि मात्र सञ्चालन गर्न पाइने उनले बताए ।

उता सिनेमा हल पनि नखुल्ने भएको छ । काठमाडौं उपत्यकामा सिनेमा हल खोल्ने निर्णय भए पनि चितवनमा भने अहिले नै सिनेमा हल नखुल्ने भएको हो । यस्तै सोमबारदेखि पसल तथा बजार पूर्ण रुपमा खोल्न पाइनेछ । यस अघिको आदेशमा पसल तथा बजार सीमित समय मात्रै खोल्न पाइने उल्लेख थियो । तर सोमबारदेखि भने पूर्ण रुपमा खोल्न पाइने प्रजिअ लामिछानेले एटुजेड समाचारलाई जानकारी दिए ।

यस्तै सोमबारदेखि सवारी साधनको जोर बिजोर प्रणाली पनि हटाउने निर्णय भएको उनले बताए । यस अघिको आदेशमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बरको सवारी साधन मात्र सञ्चालनको अनुमति थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु