कराँचीमा लकडाउनबारेको समचार संकलन गर्ने पत्रकारमाथि प्रहरीद्वारा कुटपिट
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाकिस्तानको सिन्ध प्रान्तमा थप गरिएको लकडाउनबारेको समाचार संकलन गर्ने क्रमममा प्रहरीले एक जना पत्रकारमाथि हातपात गरेको छ ।
कराँचीस्थित फेडरल बी क्षेत्रमा समाचार संकलनमा खटिएका उनलाई प्रहरीले कुटपिट गरेको बताइएको हो ।
अन्तराष्ट्रिय समाचार एजेन्सीमा आबद्ध पत्रकार फरिद खानमाथि प्रहरीले हातपात गरेको जनाइएको छ । आफूले कार्यालयको आधिकारिक कार्ड र क्यामेरा देखाए पनि प्रहरीले आफूमाथि दुर्व्यवहार र हातपात गरेको पत्रकार फरिदले बताएका छन् ।
आफूलाई बलपूर्वक प्रहरी भ्यानमा कोचेर प्रहरी चौकी लगी गैरकानूनी रुपमा हिरासतमा राखेको उनले बताए । उक्त घटनाको केही घण्टापछि सौदाबादमा अर्का पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो ।
कोभिड १९ को जोखिम कायमै रहेको बेला मापदण्ड विपरीत रेस्टुरेन्ट सन्चालन गरिएकोबारे समाचार संकलनका क्रममा एक निजी टेलिभिजनका रिपोर्टर, ओबी भ्यान अपरेटर र चालकको टोलीमाथि रेस्टुरेन्टका कर्मचारीहरुले आक्रमण गरेको जनाइएको छ ।
विश्व प्रेस स्वतन्त्रताबारे २०२१ को रिपोर्ट अनुसार पत्रकारिता अभ्यास र सुरक्षाका दृष्टिकोणले पाकिस्तान जोखिमयुक्त मुलुक रहेको देखाएको छ । पत्रकारहरुमाथि यस्तो दुर्व्यवहार बिरुद्ध पत्रकार समूहले घोर निन्दा गरेका छन् ।
तपाइँको प्रतिक्रिया