सहकारीले सेवाग्राहीलाई दिने ऋणको व्याज घटाउन अर्थमन्त्रीको आग्रह
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बचत तथा ऋण सहकारीहरुले सेवाग्राहीलाई दिने ऋणको व्याज घटाउन आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवसमा उद्घाटनका अवसरमा बोल्दै मन्त्री शर्माले सहकारीहरुले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म व्याज लिने गरेको सुन्नमा आएको भन्दै उनले त्यसलाई घटाउनुपर्ने बताए ।
कतिपय सहकारीहरुले जनताको पैंसा ठगेर उठिबास लगाएका घटनाहरु देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ पनि नेफ्स्कुनले ध्यान दिन आग्रह गरे । उनले सहकारीका संस्थापकहरुले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । अहिलेसम्म स्थिरीकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गरे ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्थाहरु तथा प्रदेश र जिल्ला बचत संघहरुमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेका छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरुमा ३४ लाख व्यक्तिगत सदस्यहरु आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।
तपाइँको प्रतिक्रिया