मोहना माविमा विद्यार्थी भर्ना गर्ने वातावरण मिलाउन २४ घण्टे अल्टिमेटम
चितवन – पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ स्थित मोहना माविमा कक्षा ११ का विद्यार्थीहरुलाई भर्ना गर्ने वातावरण मिलाउन पाँच विद्यार्थी संगठनले २४ घण्टे अल्टिमेटम दिएको छ ।
आज (आइतबार) संयुक्त प्रेस विज्ञप्तिमा जारी गर्दै स्थानीय पाँच विद्यार्थी संगठनले नगरपालिकाको कार्यालयलाई २४ घण्टे अल्टिमेटम दिएको हो । रत्ननगर नगरपालिकाले २०७७ चैत ९ गते मोहना माविमा शैक्षिक सत्र २०७८÷२०७९ को लागि कक्षा ११ विधार्थी भर्ना नगर्नु भनि गरेको पत्रचारप्रति पनि विद्यार्थी संगठनले ध्यानाकर्षण जनाएका छन् ।
स्थानीय सरकारले सामुदायिक विद्यालयलाई सबल बनाउनुको साटो उल्टै समस्या देखाएर बन्द गर्न लगाउनु विपन्न वर्गका विद्यार्थीको पढ्न पाउने अधिकार कटौती तथा निजी कलेज तथा विद्यालयलाई प्रोत्साहन गर्न बनाएको योजना भएको उनीहरुको निष्कर्ष छ । ‘स्थानीय सरकारले सामुदायिक विद्यालयलाई सबल बनाउनुको सट्टा कुनै समस्या देखाएर वा कुनै वाहानामा सामुदायिक विद्यालय बन्द गर्नु भनेको विपन्न, आदिवासी, जनजाती, दलित पिछडावर्गका विद्यार्थीहरु पढ्न पाउने अधिकार कटौती गर्नु तथा निजी कलेज तथा विद्यालयलाई प्रोत्साहन गर्न बनाएको योजना हो भन्ने हाम्रो एक मात्र निष्कर्ष हो’, विज्ञप्तिमा भनिएको छ ।
उक्त निर्णय सच्चाएर २४ घण्टा भित्र विद्यार्थी भर्ना हुने बातावरण बनाउन पनि उनीहरुले माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ – ‘मोहना माविको क्षेत्र भित्रका सम्पूर्ण ११ कक्षामा पढ्ने विद्यार्थीहरुलाई सोही विद्यालयमा आजैदेखि भर्ना भइ पढ्ने बातावरण बनाउनु हुन रत्ननगर कार्यपालिकालाई जोडदार माग गर्दछौं । मोहना माविमा २४ घण्टा भित्र विद्यार्थी भर्ना गराउने बातावरण बनाउनु हुन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदछौं ।’
माग पुरा नभए चरणवद्ध आन्दोलनमा गर्ने उनीहरुको चेतावनी समेत छ । विज्ञप्तिमा नेपाल विद्यार्थी संगठन (नेविसंघ) नगर सभापति कल्याण अर्याल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) नगर संयोजक चोकबहादुर गुरुङ, अनेरास्वयू (केन्द्रीय समिति) तथा जिल्ला अपाध्यक्ष दीपक थापा, अनेरास्वयू (छैठौं) नगर अध्यक्ष जीवन पौडेल र समाजवादी विद्यार्थी यूनियन नगर अध्यक्ष शिवले हस्ताक्षर गरेका छन् ।
तपाइँको प्रतिक्रिया