अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउ राप्रपाको माग
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित ढंगले स्वदेश फर्काउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएकोले त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउन माग गरेका हुन् ।
‘तालिबानी विद्रोहीको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरुको सुरक्षाबारे राप्रपा चिन्तित रहेको छ । तसर्थ अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै राप्रपाले बेलायती सेनामा काम गर्ने नेपालीहरुमाथि भेदभाव र असमानता कायमै रहेकाले यसको अन्त्य गर्न बेलायत सरकारसँग समेत आग्रह गरेको छ । ब्रिटिश सेनाका भूतपूर्व सैनिकहरुले उठाउँदै आएका मागप्रति ऐक्यबद्धता जनाउँदै राप्रपाले उनीहरुका माग पूरा बेलायत सरकारसँग आग्रह गरेको हो ।
तपाइँको प्रतिक्रिया